विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड

काठमाडौं — सरकारले विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय वित्तीय संस्थाहरूमा हालसम्म ११ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर लगानी गरेको छ।

अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF), एशियाली विकास बैंक (ADB), एशियाली पूर्वाधार लगानी बैंक (AIIB), सार्क विकास कोष तथा अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैंक (IBRD) लगायतका संस्थामा संस्थागत शेयर लगानी गर्दै आएको हो।

२०८० सालको असार मसान्तसम्मको तथ्यांकअनुसार यस्ता बहुराष्ट्रिय संस्थाहरूमा गरिएको लगानीको कुल रकम ११ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

सरकारले यस्ता संस्थामा लगानी गर्दै आए पनि विगतमा त्यससम्बन्धी स्पष्ट कानुनी र नीतिगत आधारको अभाव थियो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनमा सरकारी लगानीसम्बन्धी विस्तृत व्यवस्था नरहेको औंल्याइएको छ।

यही पृष्ठभूमिमा सरकारले सार्वजनिक लगानीलाई व्यवस्थित गर्न ‘सेयर तथा लगानी नीति २०८१’ ल्याएको छ। यो नीतिमा वैदेशिक तथा स्वदेशी लगानी सम्बन्धी आधार, क्षेत्र र प्रक्रिया स्पष्ट गरिएको छ।

उक्त नीतिअनुसार, सरकारले सार्वजनिक-निजी साझेदारीअन्तर्गत राष्ट्रिय प्राथमिकता प्राप्त उद्यमहरूमा, अन्तरसरकारी बहुपक्षीय संस्थाहरूमा तथा क्षेत्रीय वा द्विपक्षीय सम्झौताअनुसार स्थापित संस्थाहरूमा मात्रै शेयर लगानी गर्न पाउनेछ।

सरकारको नीति अनुसार व्यक्तिलाई सिधा ऋण वा विदेशी धितोपत्र बजारमा लगानी गर्न पाइने छैन। साथै, वैदेशिक ऋण वा अनुदानमार्फत कुनै व्यावसायिक कम्पनीमा लगानी गरिने छैन, जबसम्म त्यसको लागि विशेष सम्झौता गरिएको छैन।

यसअघि विभिन्न मन्त्रालय तथा निकायहरूको नाममा रहेको शेयर स्वामित्वलाई एकीकृत गर्दै हाल सबै लगानीको स्वामित्व अर्थ मन्त्रालयको नाममा राखिएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव मुकुन्दप्रसाद पोखरेलका अनुसार नीति कार्यान्वयनको चरणमा रहेको छ, र आगामी दिनमा आवश्यक कार्यविधि तथा नियमावली तयार भएपछि पूर्ण रूपमा लागू गरिने जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया