विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउन मन्त्री भट्टराईको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्।

सोमवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा बोल्दै उनले यो विधेयकलाई छिटो अघि बढाउन सबैलाई समन्वय गर्न आग्रह गरे।

मन्त्री भट्टराईले विद्यालय शिक्षा विधेयक धेरै पेचिलो र जटिल भएको उल्लेख गर्दै भने, “यो विधेयक सबैले आशा र प्रतिक्षा गरेको हो, त्यसैले समन्वय गरेर छिटो टुंग्याउनु पर्दछ।” उनले ३५ दिनको कार्य योजना बनाएर उपसमितिले काम शुरु गरेकोमा खुशी व्यक्त गरे।

उनले थपे, “यो विधेयक असाध्यै पेचिलो छ र सबैको प्रतिक्षामा रहेको विधेयक हो, त्यसैले हामीले ३५ दिनको कार्य योजना बनाएर काम शुरु गरेका छौँ।” उनले विधेयकका सहज विषयहरूमा छलफल गरिसकेको र जहाँ संवाद आवश्यक छ, त्यहाँ सहजीकरणका लागि मन्त्रालयले सहयोग गर्ने तयारी जनाए।

मन्त्री भट्टराईले उपसमिति, समिति र मन्त्रालयसँगको सहकार्यका माध्यमबाट विधेयकको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया