विपद् जोखिम न्युनिकरणमा उल्लेख्य उपलब्धी–ईन्दू घिमिरे, सहसचिव, गृह मन्त्रालय


गृह मन्त्रालयका सहसचिव तथा द्वन्द तथा विपद् ब्यवस्थापन महाशाखा प्रमुख ईन्दू घिमिरेले विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनमा उल्लेख्य उपलब्धी हासिल भएको दाबी गरेकी छन् । ईमेज च्यानलको कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँगको कुराकानीमा उनले मन्त्रालय र सम्वद्ध निकायहरुको निरन्तरको प्रयासले विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनमा उल्लेख्य उपलब्धी हासिल भएको वताइन् । ‘समूदाय स्तरमा सचेतना वढेको छ, स्थानीय तहहरु नै विपद् जोखिम न्यूनिकरणमा सक्रिय बन्ने स्थित बनेको छ’ उनले भनिन् ।
गृह मन्त्रालय विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनको विषयमा संवेदनशील रहेको भन्दै सहसचिव घिमिरेले प्रधानमन्त्रीको अध्यक्षतामा विपद् ब्यवस्थापन राष्ट्रिय परिषद् र गृहमन्त्रीको अध्यक्षतामा कार्यसमितिको बैठक बसेर लिइएको अग्रसरताकै कारण यसपटक वर्षामा क्षति कम भएको दाबी गरिन् । विपद् ब्यवस्थापनका लागि सबैभन्दा महत्वपूर्ण पक्ष स्थानीय तहहरुको क्रियाशिलता र समूदायको सचेतता नै हुने उनको भनाई थियो । सहसचिव घिमिरेले उद्दार, राहत र पुनस्र्थापनाको काममा सम्वद्ध निकायहरुबीच उचित समन्वय कायम गरिएको वताइन् । समन्वकै कारण घाइतेहरुको तत्काल उद्दार र पीडित परिवारलाई राहत वितरण गर्न सकिएको उनले वताइन् ।
केही दिन अघि हामीले प्राकृतिक विपद्का दुखद् घटनाहरु ब्यहोरेका थियौ । गुल्मी लमजुङ्ग र दोलखामा पहिरोमा परी सर्वसाधारणले ज्यान गुमाए । त्यसको एकसाता अघि मात्रै अविरल वर्षाका कारण वाढी, डुवान र पहिरोमा परी धेरैले जीवन गुमाएका थिए । गृह मन्त्रालयका अनुसार वाढी, डुवान र पहिरोमा परी १ सय २५ जना भन्दा वढीको मृत्यु भएको छ । यस्तै अर्बौको भौतिक क्षति भएको छ ।






गुल्मी र लमजुङ्गमा पहिरोको उच्च जोखिममा रहेको चर्चा चल्ने गरेकै थियो । तर पूर्व सर्तकता अपनाउनेतिर ध्यान पुगेको देखिएन । भू–बनोटको आधारमा जोखिमयुक्त स्थलहरुको पहिचान गर्न सकिन्छ र सोही अनुसार पूर्व सतर्कताका अपनाउन सकिन्छ । हाम्रो भू–बनोट संवेदनशील छ । त्यसैले भू बनोटको संवेदनशीलतालाई ध्यानमा राखेर हामीले विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनका लागि आवश्यक कदम चाल्नुपर्छ । तर यहाँ घटना भइसकेपछि चर्को स्वरमा राहत र उद्दारको कुरा गर्ने तर त्यसअघि न्युनिकरणका लागि पटक्कै प्रयास नगर्ने परिपाटीले यसपटक पनि निरन्तरता पायो ।

तर गृहमन्त्रालयका अधिकारीहरु पूर्व शर्तकता, पूर्व सुचना प्रणाली जस्ता जोखिम न्युनिकरणका लागि थालिएका प्रयासहरुकै कारण क्षति कम भएको दाबी गर्छन् । विपद्पछिको तत्कालिन उद्दार र राहतमा स्थानीय तह, प्रदेश तह र संघीय सरकारबीच उचित समन्वय हुँदा उद्दार र राहतको काम प्रभावकारी बनेको र समयमै जनजीवनलाई सामान्य बनाउन सकिएको उनीहरुको तर्क छ । विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनमा उचित समन्वय बनेकै हो भने त्यसलाई सकारात्मक मान्नुपर्छ । गृहमन्त्री, सचिव लगायत संसदको राज्य ब्यवस्था समितिमा उपस्थित भएर उद्दार, राहत र पुनस्र्थापनाका लागि भइरहेका प्रयास र भावी योजनाबारे जानकारी गराउनु सकारात्मक पक्ष हो । सम्वद्ध निकायबीच समन्वयका लागि गृहमन्त्रालयका अधिकारीहरुले लिएको अग्रसरताले तत्काल उद्दार राहतको कामलाई प्रभावकारी बनाउन भूमिका खेलेको हो भन्न सकिन्छ ।
अहिले पनि पीडितहरु पाल मुनी बस्न बाध्य छन् । उनीहरुका लागि यथाशिघ्र उचित बसोबासको प्रवन्ध गर्नु जरुरी छ । यस्तै विभिन्न रोगको प्रकोपको जोखिमलाई कम गर्नेतिर पनि ध्यान पुर्याउनु आवश्यक छ । नेपाल प्राकृति विपद्को दृष्टीले जोखिम नै जोखिममा रहेको राष्ट्र हो । त्यसैले हामीले विपद्पछिको उद्दार र राहतको काम त स्वभाविक रुपमा गर्दै आएका छौ । तर आवश्यक्ता भनेको विपद् जोखिम न्युनिकरणमा ठोस प्रयास गर्नु नै हो ।

तपाईको प्रतिक्रिया