वीरगञ्जमा कर्फ्यु आज राति १२ बजेसम्म बढाइयो

काठमाडौं — पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्युको अवधि आज राति १२ बजेसम्मका लागि थप गरिएको छ। शनिबार हमुमान जयन्तीको शोभायात्राका क्रममा दुई पक्षबीच भएको झडपपछि सुरक्षाको अवस्था मध्यनजर गर्दै कर्फ्यु अवधि लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनाअनुसार, स्थानीय प्रशासन ऐन, २०२८ अन्तर्गतको दफा ६ (क) अनुसार कर्फ्यु आदेश जारी गरिएको हो।

कर्फ्यु क्षेत्रको सीमाना यस प्रकार छ:

  • पूर्वतर्फ: वीरगञ्ज–१५ को भेडियाही चोक
  • पश्चिमतर्फ: वीरगञ्ज–२५ को सिर्सिया चोक
  • उत्तरतर्फ: वीरगञ्ज–१४ को गण्डक चोक
  • दक्षिणतर्फ: वीरगञ्ज–१६ को शंकराचार्य चोक

प्रशासनले सर्वसाधारणलाई तोकिएको क्षेत्रभित्र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया