शिक्षकहरूको मागप्रति गम्भीर हुन साउदको आग्रह

नेता तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई शिक्षकहरूको मागप्रति गम्भीर बन्न आग्रह गरेका छन्। उनले सरकारको हालसम्मको उदासिनताप्रति आश्चर्य प्रकट गर्दै, यसले आन्दोलन झनै चर्किन सक्ने चेतावनी दिएका छन्।

सरकारको तर्फबाट स्पष्ट पहल नआएको भन्दै नेपाल शिक्षक महासंघले शैक्षिक हडतालको घोषणा गर्दै एसईई उत्तरपुस्तिका मूल्यांकन रोक्ने र कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ। यसले देशको शैक्षिक प्रणालीमा गम्भीर असर पारिरहेको साउदको भनाइ छ।

उनले शिक्षक आन्दोलनले शिक्षा क्षेत्रमा ठूलो प्रभाव पारेको बताउँदै, सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर तत्काल समाधान दिनुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार, नेपाली कांग्रेसले आफ्ना तर्फबाट सम्बन्धित निकायहरूसँग पटक–पटक पहल गरे पनि ठोस उपलब्धि ननिस्किनु दुःखद पक्ष हो।

शिक्षकहरूले गरिरहेको शान्तिपूर्ण प्रदर्शनलाई कमजोरीको रूपमा हेर्नु सरकारका लागि घातक हुन सक्ने उल्लेख गर्दै, आन्दोलन लम्बिँदै गए शैक्षिक क्षति अझ गहिरिने चेतावनी समेत उनले दिएका छन्।

यदि सरकारको तर्फबाट तत्काल पहल नआएमा नेपाली कांग्रेसले निर्णायक कदम चाल्नुपर्ने अवस्था आउन सक्ने साउदले संकेत गरेका छन्।

तपाईको प्रतिक्रिया