शीतलहरका कारण सडक चिप्लो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

पछिल्लो दुई दिनदेखि परेको शीतलहरका कारण पूर्वपश्चिम राजमार्गको नवलपरासी- दुम्किवास- दाउन्ने सडक खण्डमा यातायात अवरुद्ध भएको छ।

निर्माणाधीन धुलोले ढाकिएको सडक शीतलहरका कारण हिलाम्मे बनेको र मंगलबार रातिदेखि सवारी साधनहरू बाटोमै रोकिएका हुन्।

सडक चिप्लो र हिलो बनाइएका कारण सवारी चलाउन समस्या भएको लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा र ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ।

मंगलबार राति साढे १२ बजेदेखि पूर्वतर्फ र पश्चिमतर्फ जाने सवारी साधनहरू दुवै तर्फ सडकमा रोकिएका थिए।

शीतलहरका कारण सडक चिप्लिएपछि दाउन्नेबाट पूर्वतर्फ जाने सवारीलाई रोक्ने काम गरिएको लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले बताए।

बुधबार बिहान ७ बजेदेखि पश्चिमतर्फ आउने सवारी साधनहरूलाई सञ्चालनमा ल्याइएको छ। खत्रीका अनुसार, “सडक अत्यधिक चिप्लो बनेको र दुर्घटनाको जोखिम रहेको हुँदा दाउन्नेमा पूर्वतर्फ जाने सवारी साधनलाई रोकिएको हो,” उनले थपे।

सडक प्रयोगकर्ताहरुलाई शीतलहरका कारण सावधानी अपनाएर यात्रा गर्नको लागि प्रहरीले अपील गरेको छ।

तपाईको प्रतिक्रिया