श्रमिकलाई सम्झौताअनुसार सेवा सुविधा नदिने मेनपावर कम्पनीलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्झौताअनुसार पारिश्रमिक र सेवा सुविधा दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले ठगीको शिकार भएको, समस्यामा परेको र दूतावासमा समस्या राख्दा बेवास्ता गरिने गुनासो आएको उल्लेख गर्नुभएको हो।

अर्यालले युएई र मलेसियाका सेक्युरिटी कम्पनीहरूमा कार्यरत श्रमिकहरूले सम्झौताअनुसार पारिश्रमिक, बिदा र औषधि उपचार प्राप्त नगरेको बताउनुभयो। मेनपावर कम्पनीहरूले श्रमिकलाई भनेअनुसारको सेवा सुविधा नदिने र गुनासो गर्दा धम्क्याउने गरेको समेत उहाँले उल्लेख गर्नुभयो।

उहाँले भने, “मुलुक रेमिट्यान्समा चलिरहेको अवस्थामा श्रमिकलाई सम्झौताअनुसारको सेवा सुविधा दिलाउन र श्रमिकलाई दुःख दिने मेनपावर कम्पनीलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।”

कार्यवाहक सभापति अर्यालले वर्षा मौसम नजिकिएर बाढीको जोखिम रहेका नदिहरूमा तटबन्धको व्यवस्था गर्न पनि आग्रह गर्नुभयो।

तपाईको प्रतिक्रिया