संकटालाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

चितवन — राष्ट्रिय महिला फुटबल प्रतियोगितामा मंगलबार लिगको अन्तिम खेलमा संकटा फुटबल क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएको छ।

भरतपुरको कृष्णपुर खेल मैदानमा आर्मीले २–० को जित हासिल गर्‍यो। आर्मीको जीतमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे। पहिलो हाफमा संकटा टीमले आर्मीलाइ रोक्ने प्रयास गरे पनि दोस्रो हाफमा आर्मीले दबाब कायम राख्न सक्यो। खेलको ५७ औं मिनेटमा हिमाले बक्स बाहिरबाट गोल गर्दै आर्मीलाई अग्रता दिलाइन्।

अतिरिक्त समयको पहिलो मिनेटमा चन्द्राले गोल थपेकी थिइन्। हिमा चौधरीलाई प्लेयर अफ द म्याच घोषणा गरिएको छ।

आर्मीले सेमिफाइनलमा बिहीबार रौतहटसँग प्रतिस्पर्धा गर्नेछ। बुधबार हुने पहिलो सेमिफाइनलमा भरतपुर २४ र एपीएफबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया