संविधान विपरीतका गतिविधि कुनै हालतमा स्वीकार्य छैनन् : गृहमन्त्री लेखक

पोखरा – गृहमन्त्री रमेश लेखकले संविधान विपरीतका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उनले पूर्वराजावादी होस् या अन्य कुनै पनि नाममा संविधानविरोधी कार्य वा अस्थिरता सिर्जना गर्ने प्रयास सह्य नहुने चेतावनी दिएका हुन्।

गृहमन्त्री लेखकले नेपालको वर्तमान संविधान लामो संघर्ष र बलिदानीपछि प्राप्त भएको स्मरण गराउँदै यसको रक्षामा सबै पक्ष सजग र सक्रिय रहनुपर्ने बताए। उनका अनुसार अहिलेको संविधान विश्वकै उत्कृष्ट लोकतान्त्रिक संविधानहरूमध्ये एक हो।

नेपालमा सात दशकमा सातवटा संविधान बनेको उल्लेख गर्दै उनले पटक–पटक संविधान परिवर्तन हुनु स्वस्थ लोकतान्त्रिक अभ्यास नभएको तर्क गरे।

संविधानको दायरा भित्र रही आलोचना वा वैचारिक बहस गर्न पाउने अधिकार सबैलाई भए पनि हिंसा, अराजकता र संविधानमाथि प्रत्यक्ष प्रहार गर्न खोज्ने गतिविधि भने सह्य नहुने उनको भनाइ छ। यस्ता क्रियाकलापहरू कानुनअनुसार कारबाहीको दायरामा पर्ने उनले स्पष्ट पारे।

संविधान निर्माणको एक दशक पुगेको प्रसंग उठाउँदै उनले आवश्यक समीक्षा र सरोकारवाला सबै पक्षको सहमति जुटाएर आवश्यक परे संशोधन गर्न सकिने धारणा राखे।

गृहमन्त्री लेखकले पछिल्ला वर्षहरूमा लागुऔषधको दुरुपयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध र प्राकृतिक प्रकोप जस्ता चुनौतीहरू देखिएको उल्लेख गरे। यस्ता समस्याको समाधानका लागि सरकार निरन्तर क्रियाशील रहेको उनको भनाइ छ।

सेवा प्रवाहलाई जनमुखी र प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले जनतालाई प्रभावकारी सेवा दिन कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायहरूलाई आग्रह गरे।

जिल्ला प्रशासन कार्यालयहरू संघ सरकारको प्रतिनिधि भएको उल्लेख गर्दै गृहमन्त्रीले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्दै जनसेवा प्रभावकारी बनाउने दिशामा सक्रिय हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया