संसदमा केपी ओलीको २८ मिनेट सम्बोधन : आवेश उत्तेजनामा नजाऔं, देशको आर्थिक अवस्था अप्ठ्यारोमा छ, हामी सबै मलेर समाधान गर्नु पर्छ

सम्माननीय सभामुख महोदय,
आज हामी अलिकति नयाँ स्थितिमा सरकार पुनर्गठन भएको, राजनीतिक दलहरूको सरकारमा सहभागिताको परिस्थिति अलिकति बदलिएको र सम्माननीय प्रधानमन्त्रीज्यूले फेरि विश्वासको मतका लागि आग्रह गर्दै प्रस्ताव प्रस्तुत गर्नु भएको अवस्थामा यहाँ उपस्थित भएका छौं ।

हामीले सँगै मिलेर ठूल्ठूला कामहरू गरेका छौं । राम्रो काम जति सबै आफूले गरेको भन्छ–नेपाली कांग्रेसले । राम्रो जति सबै आफूले गरेको, अरुलाई एकछेउ जस दिन्छ ?


मैले प्रधानमन्त्रीज्यूको प्रस्ताव वक्तव्य राम्ररी सुनेँ । उहाँको तर्क, विश्लेषण, सरकार किन पुनर्गठन गर्नु परो भन्ने कारण र उहाँ अब यसपछि के चाहनु हुन्छ भन्ने कारणहरू, केका लागि यसो गर्नु भयो भन्ने सबै कुराहरू बताउनु भयो । यत्तिकोलाई सविस्तार नै भन्नुपर्छ । कुराहरू, कारणहरू चित्त बुझ्दो छन्, म समर्थनबाटै सुरु गर्छु । 
यस सदनले, सबैले मिलेर नै यस प्रस्तावलाई पारित गर्नु वाञ्छनीय छ जस्तो लाग्छ । पोहोर साल मैले प्रस्ताव गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’जीलाई प्रधानमन्त्री बनाएको थिएँ । नेपाली कांग्रेस भोट नै नमागिकन हतारिएर, हौसियर, उत्साहित भएर नयाँ ब्याट्री हालेको थियो, समर्थन गरेको थियो । अहिले चाहिँ किन समर्थन नगर्ने भन्या ? मैले समर्थन गरेको छु । पोहोर समर्थन गर्न हुने, पोहोर एकदम सकारात्मक भाषण गर्नु भएको थियो उफ्रि उफ्रिकन, यस पटक त्यस्तो के भयो ठ्याक्कै टर्न अबाउट ? मान्छे उही ! अनि पोहोर पनि नेपाली कांग्रेस त्यस बेलासम्म सरकारमा थिएन, भित्रभित्र के थियो म त्यो जान्दिनँ । हुन त नेपाली कांग्रेसको तर्फबाट अस्ति माननीय रमेश लेखकजीको मन्तव्य सुन्दाखेरी नेपाली कांग्रेस यस्तो केही धोका दिने, छलछाम गर्ने त गर्दै गर्दैन होइन र ? गर्दै गर्दैन ? ‘हजार चूहे खा के विल्ली चली कण्ठी बाँधकर हज’ गर्ने कि कुन धाम भन्छन् नि ! हजारवटा मुसा खाएपछि बिरालो कण्ठी बाँधेर भोलेनाथ भोलेनाथ भन्दै बर्को ओडेर पशुपति ! अस्ति भाषण सुन्दा मलाई मज्जा लाग्यो, आहा ! सबै कुरा बिर्सिएर !
हामीले सँगै मिलेर ठूल्ठूला कामहरू गरेका छौं । राम्रो काम जति सबै आफूले गरेको भन्छ–नेपाली कांग्रेसले । राम्रो जति सबै आफूले गरेको, अरुलाई एकछेउ जस दिन्छ ? यसपटक नेपाली कांग्रेस मात्रै होइन, यसो छरछिमेकका मित्रहरू पनि यत्तिको काम त हामीले गरेको भनेर हामीलाई जस दिए हुन्छ नि ! यो सरकार परिवर्तन, खत्र्याकखुत्रुक सानातिना देशभित्रका काम त हामीले गरेको भनेर । तर  को आयो, कसले गर्यो, कुन देश आयो, कहाँ अर्कालाई जस दिएको ? हामीले गरेको हो । प्रचण्डजी मुख्य हो यो परिवर्तन गर्ने, साथ दिने म पनि हो । उहाँले अघि नै भन्नुभयो, नेपाली कांग्रेसको कार्यक्रम थियो, त्यस कार्यक्रममा मैले भनेको थिएँ, यही पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन हो, ‘गठबन्धनमा रमाएर मस्तले इन्जोय गरिराखेको कांग्रेसको तलाउमा फ्यात्त ढुङ्गा फ्याकेर किन तरङ्ग ल्याउने ? म त्यतापट्टी छैन’ भनेको थिएँ । मैले केही भनेर तरङ्ग ल्याउन चाहिनँ । तर, बुझ्न त कांग्रेसले अलिअलि बुझेको हुँदो हो । अस्ति मलाई आनन्द लाग्यो, मैले २०७३ साल साउनमा यसै रोष्टमबाट भनेको थिएँ । त्यस बेला मैले भनेको एउटा कुरा अस्ति उद्धरण गरेको त भन्न भएन तर उद्धरण गरेको जस्तै गरी भन्नुभयो– अहिले नयाँ समीकरणमा आएका मित्रहरूलाई होश रहोस् है’ भनेर मैले २०७३ सालमा यहाँहरूलाई भनेको थिएँ । 
२०७० को चुनावपछि नेपाली कांग्रेसको बहुमत थिएन । म नै अग्रसर भएर के भनेँ  भन्दा नेपाली कांग्रेस हामीभन्दा दुई सिट भए पनि बढी छ । उसले प्राथमिकता पाओस् । नेपाली कांग्रेसको नेता प्रधानमन्त्री हुनुस्, त्यसपछि हामी हुन्छौं । त्यो सहमति भएको थियो । लिखित गरौं भन्ने भएको थियो । मैले भनेँ–लिखित किन गर्ने ? नेपाली कांग्रेसले बेइमानी गर्यो भने के म लिखत बोकेर मान्छेहरूलाई देखाउँदै हिंड्ने ? के गर्ने, त्यसको के काम छ ? पालना गर्ने हो भने वचन काफी छ । धेरै पटक कागज गरेर ती कागज खोस्टोमा परिणत भएको अनुभव बोकेको हुनाले मैले कागज चाहिँ नगरौं, परेन भनेँ । पछि त सहमति कता हो कता, प्रस्ताव गर्नु होला भनेको त आफैँ उम्मेदवार हुन पो पुगिराखेको ! अनि थाहा नपाएजस्तो, नबुझेको जस्तो सभापतिले भन्नुपर्यो नि– मलाई थाहा छैन । जसले गर्यो, उसलाई थाहा छैन ! भइगो यो । तर नेपाली कांग्रेसले इमानको कुरा अस्ति जुन धाकका साथ गर्यो रोष्टममा उभिएर, मलाई अचम्म लाग्यो, कसरी ढुक्कसँग भन्न सकेको होला ? एउटा औंला अरुलाई देखाउँदा अरु सबै औंला आफूतिर फर्किएका हुन्छन् भनेको जस्तै धेरै औंला नेपाली कांग्रेसतिर फर्किएका थिए । 
मलाई नेपाली कांग्रेससँग केही भनाभन गरिरहन मन पनि छैन र आवश्यकता पनि छैन । तर, खाली साह्रै एकदम वाचा बन्धनमा अडिएको, इमानै इमानको खानी, बेइमानी भनेको थाहै नपाएको, देख्दै नदेखेको, गर्दै नगरेको नेपाली कांग्रेस भन्दा अलिक अचम्म लागेको हुनाले आश्चर्य मात्रै व्यक्त गरेको हुँ । यस्तो कुरा गर्दा गाउँघरतिर बाउलो तान्ने भन्छन्– होश गराउनका लागि । मैले त्यो बाउलो तानिदिएको अलिक ठिकै बोलौ है भनेर ।
अहिलेको यो परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जीले कसरी बन्यो, के बन्यो भन्ने कुरा भनिसक्नुभयो । हाम्रो योगदान होइन । हामी त बाहिर बसेर हेरिराखेका थियौं । बरु हामीलाई दुनियाँले भनिराखेका थिए–प्रतिपक्ष किन सेलाएको जस्तो, किन बोल्दैन भनेर । एमालेको एउटा विशेषता के भने ‘विरोधका लागि विरोध’ गर्दैन । त्यो त विपक्ष बेञ्चमा बसेर पनि देखायो, विरोधका लागि विरोध गर्दैन, सभ्य र सौम्य तरिकाले विरोध गर्छ, प्रधानमन्त्रीभन्दा पहिला विपक्षी दलको नेता बोल्न पाउनुपर्छ भनेर पनि अड्ङ्गा हाल्दैन । यहाँहरू त वेलमा जानु भएको होइन र ? प्रधानमन्त्रीभन्दा पहिला विपक्षी दलको नेता बोल्न पाउनुपर्छ र बोल्नुपर्छ भनेर ? संसदमा नीति कार्यक्रम प्रस्तुत गर्न नदिएको होइन र ? यस्ता खालका अनुभवहरू हामीले झेलेका छौं । अघि संसद सुरु हुने बित्तिकै लामो कण्ठी माला झुण्डाएर फेरि एउटा भाषण सुरुमै ठोक्नु भयो । ऐना त बिहान घरबाट हेरेरै आउनु भएको होला नि ? त्यतापट्टी पनि नजाऔं, भइगो ।
अब अहिले जुन परिवर्तन भएको छ, यो त स्वाभाविक नै हो । हामीले प्रतिस्पर्धाको प्रणाली ल्यायौं, बहुमत कसैसँग छैन, अस्थिरताको खेती यहाँहरूले गर्नु भएको हो । अहिले अस्थिरता ! पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दा तपाईंहरूलाई अस्थिरता लागेन, अहिले १४ महिनापछि सरकार परिवर्तन हुँदा के को अस्थिरता भयो ? पोहोर त अस्थिरता भएको थिएन त, बेस्सरी अस्थिरता नगरिकन तपाईंहरूले शान्तिपूर्ण ढङ्गले अस्थिरता बिना सरकार परिवर्तन गरेको होइन दुई महिना नभइकन ? अहिले चाहिँ अस्थिरता ! त्यता पनि म जान चाहन्नँ ।
देशको परिस्थिति सुखद् छैन । देशको राजनीतिमा सोझै विभिन्न नाममा राष्ट्रिय एकतामा भाँजो हाल्ने, पहिचानका नाममा, जातका नाममा, धर्मका नाममा विद्वेष, घृणा समाजमा फैलाउने त्यस्ता प्रयासहरू खुलेआम भइराखेका छन् । विभिन्न खालका साम्प्रदायिक सङ्कीर्णताहरू समाजमा फैलाउने, विद्वेष फैलाउने, घृणा फैलाउने, राष्ट्रिय एकतालाई भित्रभित्रै खोक्रो पार्ने प्रयास भएका छन् । हामी नेपालीहरूले हाम्रो देश आर्थिक हिसाबले पछाडि छ, राजनीतिक हिसाबले पछाडि छ, त्यो कुरा हामीले थाहा पाउनुपर्छ । यस्तो अवस्थामा हाम्रा विभिन्न प्रकारका असमानता, विभेदहरू जुन छन्, तिनीहरूको दृढताका साथ, तिव्रताका साथ अन्त्य गर्न कदम चाल्नपर्छ र तिनलाई अन्त्य गरेर हामी अगाडि बढ्नुपर्छ । त्यसलाई अन्त्य गर्नैपर्छ । सामाजिक न्याय, समानताका आधारमा सामाजिक सद्भाव कायम गर्नुपर्छ र राष्ट्रिय एकता बनाउनुपर्छ । देशलाई अब अगाडि बढाउनुपर्छ । पछाडि फर्काउने प्रतिगामी कुराहरू चलिराखेका छन् । यो प्रतिगामी कुराहरू कुनै हालतमा उचित हुनै सक्दैन । नागरिक सर्वोच्चताभन्दा माथि अर्को कुनै कुरा हुन सक्दैन । जन्मसिद्ध श्रेष्ठताका सिद्धान्तहरू नेपाली जनताले स्वीकार्नु र मान्नु हुँदैन । यो देश एउटा जाति विशेषको होइन, यो देश एउटा धर्म विशेष को होइन, यो राज्य सम्पूर्ण नेपाली जनताको साझा राज्य हो । त्यसकारण यो राज्यलाई एउटा धर्म विशेषको, एउटा जाति विशेषको, एउटा भूगोल विशेषको, कुनै हिसाबले पनि एउटा विशेषको बनाउन सकिँदैन । यो सम्पूर्ण नेपालीको साझा देश हो, साझा राज्य हो र यस राज्यले समदृष्टि, समभावका साथ सबैलाई हेर्न पर्दछ । अनि हामी डेमोक्रेसी भन्छांै, डेमोक्रेसीमा यति कुरा पनि बुझ्दैनौ ? हामीले देशलाई एकताबद्ध बनाउनुपर्छ । सबैको साझा राज्य हो । त्यो अवधारणाको कार्यान्वयन हुनु पर्दछ । आफ्नो आफ्नो धर्म, आफ्नो आफ्नो संस्कृति, आफ्नो आफ्नो परम्परा, आफ्नो आफ्नो भेषभुषा सबैले इन्जोय गर्न पाइन्छ, त्यसको अभिवृद्धि गर्न पाइन्छ, आफ्नो आफ्नो भाषाको अभिवृद्धि गर्न पाइन्छ र सहअस्तित्व, सहिष्णुता, पारस्परिक मेल, सद्भावका साथ एकअर्कालाई सहयोग पुर्याउन सकिन्छ र सहयोग पुर्याउनुपर्छ । नेपालका सबै जातिहरू, सबै भाषाहरू, सबै संस्कृतिहरू नेपाली हुन् । तिनको रक्षा र सम्वद्र्धन हुनुपर्छ, त्यो आवश्यकता हो । त्यसकारण समाजमा अहिले के भइराखेको छ भन्दा यस विपरीतका कामहरू, प्रतिगामी सोचहरू, देशलाई उल्टो बाटो फर्काउने कुराहरू, अन्यायपूर्ण खालका सोचहरू, नागरिक सर्वोच्चतालाई नागरिक भएर आफैँले इन्कार गर्ने खालका सोचहरू कसरी आउन सकेको होला ? सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रतिको हाम्रो निष्ठा, संविधानप्रतिको हाम्रो निष्ठा छ कि छैन ? आधारभूत प्रश्नहरूप्रतिको निष्ठा छ कि छैन ? छैन भने संविधान यहाँ संशोधन गर्नुपर्छ भनेर दलहरूका बीचमा कुन ठाउँमा संविधान संशोधन गर्नुपर्छ, यो गरिमामय सदनले दुईतिहाइले संशोधन गर्न सक्ने ठाउँ त छँदै छ, त्यो सदनभित्र छलफल गर्न सकिन्छ । तर देशमा साम्प्रदायिकताको आगो झोसेर अथवा प्रतिगमनको बनाठको सिङ् फुकेर त्यसबाट देश अगाडि जान सक्दैन । यस कुरामा हामी सिङ्गै सदन सजग हुनु पर्दछ । हामीले सही कुरामा, वैज्ञानिक कुरामा, लोकतान्त्रिक मूल्य मान्यता, प्रणाली र प्रक्रियामा नेतृत्व गर्नुपर्छ ।  देशलाई अगाडि बढाउने कुरामा हाम्रो सदन सजग हुनु पर्दैन ? नेपाली जनतालाई यसले लिड गर्नु पर्दैन ? लिड गर्नु पर्दछ । यतापट्टी म ध्यानाकर्षण गर्न चाहन्छु । 
समाजमा अराजकता छ । के कुनै समाज अराजकताबाट निर्माण हुन सक्छ ? कि कानूनको राज हुनु पर्दछ ? कानूनको राजमा यदि राज्यबाट तलमाथि भएको छ भने राज्यलाई नियन्त्रण गर्नु पर्दछ यस व्यवस्थापिका संसदले । यो जनताको सर्वोच्च जनप्रतिनिधि थलो हो । तर, संसदमा पनि अराजकताको नाइके हुने, यस्ता डबल खालका कुराहरू हामीले गर्नु हुँदैन । संविधानमा संशोधन गर्न सकिन्छ तर त्यसभित्र बस्नु पर्दछ ।
म आग्रह गर्न चाहन्छु– राजनीतिमा यो प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली हामीले रोजेर ल्याएको हो । प्रतिस्पर्धा भयो, भिन्नभिन्न दल भयो भनेर आत्तिनु र छट्पटाउनु हुँदैन । यो त हामीले रोजेर ल्याएको प्रणाली हो नि । एकदल भयो भने निषेधको राजनीतिले त एकदलीय एकाधिकारवादमा पुर्याउँछ अथवा एकपक्षीय हुन्छ, अरुलाई अस्वीकार गर्छ । डेमोक्रेसीमा अस्वीकार गरिंदैन, भिन्नतालाई अस्वीकार गरिंदैन, फरकलाई अस्वीकार गरिंदैन, स्वीकार गरिन्छ र त्यो स्वीकार्यता प्रतिस्पर्धामा प्रकट हुन्छ । प्रतिस्पर्धा स्वस्थ्य हुनुपर्दछ । 
अहिले कुन चुनाव भयो र ? के तपाईंहरूले चुनावमा बहुमत ल्याएर सरकार बनाउनु भएको थियो– नेपाली कांग्रेसका प्रिय मित्रहरू ? अनि अहिले यो रुवावासी ! खोई पोहोर साल त हामीले केही पनि रुवावासी गरेनौं त, खुशी साथ नै छोड्दिएका थियौं, गरी खानुस् है भनेका थियौं । शुभआशिष भनौं भने ठूलो कुरा गरेको जस्तो हुने, नम्र पाराले शुभकामना भनेका थियौं । गरी खाएको भए हुन्थ्यो । अहिले पनि सत्तापक्ष भएर हौसिनुपर्ने, सत्ताविपक्ष भएर निराश हुनुपर्ने कुनै कारण छैन । त्यसकारण म नेपाली कांग्रेसलाई आग्रह गर्न चाहन्छु– आवेश उत्तेजनामा नजाऔं, आर्थिक सवालहरूमा अप्ठ्याराहरू छन् । अघि प्रधानमन्त्रीजीले भनिसक्नु भयो । ती अप्ठ्याराहरूलाई हामीले सहज बनाएर लिएर जानु छ । हामीले समाधान गर्नुपर्ने अनेक समस्याहरू छन् । 
अस्ति मैले सुनेँ, शान्ति प्रक्रियाको सम्बन्धमा सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रश्न, किन टुङ्गिएन भन्दा कसले टुङ्गिन दिएन भनेर । म सोध्न चाहन्छु– कसले टुङ्ग्याउन दिएन ? म प्रधानमन्त्री हुँदा टुङ्ग्याउँ टुङ्ग्याउँ भन्दा नटुङ्ग्याएको कसले ? अनि सभापति कसका भए आयोगमा ? काम नगरेको कसले ? काम नगर्न तिनीहरूलाई निर्देशन मैले दिएको हो र ? कसले हो ? हामीले जुन कुराहरू राख्यौ, ती कुराहरू अहिले पनि त्यही हो, हिजो पनि त्यही हो, जहिले पनि त्यही हो । मैले लगातार दुई चारवटा पोइन्ट भनिराखेको छु जुन राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेसले यहीं रोष्टममा उभिएर जुन कुरा भनिराख्नु भएको थियो, त्यही कुरा त हामीले भनिराखेका हौ । प्रायः कुराहरू टुङ्गिएका छन् । अब एक दुई वटा कुराहरू छन्, त्यसलाई टुङ्ग्याऔं । छिटै टुङ्ग्याउनुपर्छ यो शान्ति प्रक्रिया सम्बन्धी अन्तिम किस्ताको टीआरसी टुङ्ग्याउनुपर्छ भनेर हाम्रो भनाइ सधैं एउटै छैन र ? कसले व्यवधान गर्यो ? कहाँ व्यवधान गरेको छ ? व्यवधान गरेकै छैन त । तसर्थ म भन्छु , डेमोक्रेसीमा हामी साँच्चै रचनात्मक प्रतिपक्ष, सिर्जनात्मक, सहिष्णु र उदार सत्तापक्ष भएर चल्नु पर्छ । अस्ति सत्तापक्षमा हुँदा यहाँहरूले सत्तापक्षीय भूमिकामा अलिक कमी गर्नु भयो । त्यो रियलाइज गर्दा पनि हुन्छ । अब प्रतिपक्षमा फेरि आएपछि यत्तिको छिप्पिएको, कतिपय साथीहरूले त बुढो कांग्रेस भन्नुहुन्छ, मैले छिप्पिएको मात्रै भन्छु । यत्तिको छिप्पिएको कांग्रेसले अब त मेचुरिटी देखाउनुपर्छ नि त भन्ने मेरो आग्रह हो । 
हामी यस्तो आर्थिक मन्दिको अवस्थामा पुगेको अवस्था छ । यसलाई अगाडि बढाएर समस्या समाधान गर्नुपर्ने छ, को सरकारमा भयो भन्ने कुरा त यो टेम्पोरेरी कुरा हो । घामजुन रहुन्जेल कोही १०÷२० वर्ष रहने होइन । अलिक समय भएका बेला सकेसम्म राम्रो काम गर्ने हो । सरकारले त्यसमा राम्रो काम गरोस्, प्रतिपक्षले त्यसमा घ्च्घचाओस्, ठीक छ । तर, रचनात्मक भन्ने तरिका छ, त्यही रचनात्मक ढङ्गले नै जाओस् भन्ने मेरो आग्रह छ । 
एउटा कुरा मैले अखवारहरूमा हेरेँ– आज प्रधानमन्त्रीको कार्यकाल बाँडेको बजारभरि देख्छु । यो सरकार परिवर्तन किन भएको, यसमा नेताहरू सहकार्य किन गरेको भन्ने कुराको गरिमालाई घटाएको छ यस्ता खबरहरूको अनुचित सम्प्रेषण, यो गलत कुरा हो । न १३÷१३ वर्ष (महिना)को कसैले सम्झौता गरेको छ, न १३÷१३ वर्ष भागबण्डाको कुरा हो । यो प्रधानमन्त्री हुनैका लागि हामीले यस्तो गरेको होइन । मलाई प्रधानमन्त्रीको इच्छा पनि छैन, मेरो नाम पनि यो १३÷१३ वर्षमा जोडिएको छ क्यार । यो देशमा केही गरौं, अब त कमसेकम केही गरौं, प्रधानमन्त्री जो सुकै होस् । मैले नेपाली कांग्रेसलाई पनि भनेँ–ए कुरा गरौं न, यो देशका समस्या कसरी सही ढङ्गले समाधान गर्ने । वर्णाश्रम व्यवस्थामा पानी चल्दैन, दाल चल्दैन भन्ने सुनेको थिएँ, कुरा चल्दैन भन्ने चाहिँ नेपाली कांग्रेसबाट सुनियो । एमालेसँग कुरा चल्दैन, वा कुरै नचल्ने ! तीन तीन वर्षसम्म ए कुरा गरौं न, पुराना मित्र हौं हामी, यो देशका समस्याका बारेमा कुरा गरौं न भन्यो, (कांग्रेस) कुरै चल्दैन ! 
हामीले के बुझ्नुपर्छ भने अहिलेको संसदमा कसैको पनि बहुमत छैन । नेपाली कांग्रेसले दुई चारवटा सिट हामीले भन्दा बढी ल्याएको छ । के कसरी ल्यायो अहिले भन्न चाहन्नँ । सँगसँगै हामी पनि छौं र पपुलर भोटमा कांग्रेसको भन्दा अलि बढी पनि छ । अनि कुरै चल्दैन ? बोली चल्दैन ? यो त हुनै थियो । अब यस्ता खालका प्रवृत्ति र यस्ता खालका कुराहरूलाई अन्त्य गरौ । शेरबहादुरजी हिजो सत्तापक्षमा हुनुहुन्थ्यो– पूर्वप्रधानमन्त्री, म अहिले सत्तापक्षमा छु–पूर्वप्रधानमन्त्री पनि हो । म भन्न चाहन्छु शेरबहादुरजीलाई–बसौ, कुरा गरौं । कुरा नचल्ने भन्ने हुँदैन, प्रतिपक्षमा बस्दैमा कुरै नचल्ने त्यस्तो हुँदैन, आउनुस्, कुरा गरौं, छलफल गरौं । हामी मिलेर समस्या समाधान गरौं । देश समस्यामा छ । देश समस्याग्रस्त छ । भ्रष्टाचार रोक्नु पर्दछ, कमिशनतन्त्र रोक्नु पर्दछ, तस्करी रोक्नु पर्दछ । अस्तिको दिनको भाषण सुन्दा र आज बिहान प्रारम्भको छोटो नेपाली कांग्रेसको प्रस्तुति हेर्दा अलिक अनौठो अनौठो लाग्यो, नेपाली कांग्रेस दूधकुण्डमा नुहाएर आएको हो कि जस्तो नि । 
म आग्रह गर्न चाहन्छु, एउटा नयाँ परिवेश र नयाँ परिस्थिति बनेको छ । यस परिस्थितिलाई सहज ढङ्गले अगाडि लिएर जाऔं, देशका समस्या समाधान गर्नेगरी लिएर जाऔं, आधारभूत रुपमा डेमोक्रेसीलाई सुदृढीकरण गर्ने कुरामा, संविधान कार्यान्वयन गर्ने कुरामा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने कुरामा, त्यसको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा, जनताले भोगिरहेका समस्या समाधान गर्ने कुरामा सँगै काम गर्न सकिन्छ नि । 
अघि प्रधानमन्त्रीज्यूले राखिसक्नुभएको छ, सरकार बन्ने बित्तिकै कमसेकम मिटरब्याजीहरूसँग सहमति गरेर उहाँहरूलाई खुशी बनाएर पठाएको छ । आरती साहका आमासँग संवाद गरेर त्यस समस्यालाई सम्बोधन गरेर अगाडि बढाएको छ । यस्ता लक्षणहरू त देखिन थालेका छन् । खुशी व्यक्त गर्न चाहन्छु, खुशी लाग्छ । जनताका समस्या सम्बोधन गर्नु पर्यो । कहाँ कहाँ बेथिति छ, त्यसलाई रोक्नु पर्यो । अब देशलाई आर्थिक हिसाबले योजनाबद्ध ढङ्गले अगाडि बढाउनु पर्यो । कसरी आर्थिक उन्नति गर्ने ? ६० प्रतिशत कृषिमा अल्झिएको जनसङ्ख्यालाई कसरी स्थानान्तरण गर्ने ? कसरी कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण गर्ने ? देशलाई कसरी औद्योगिकरण गर्ने ? देशलाई कसरी आधुनिकीकरण गर्ने ? हामी सबै यस दिशामा जानु पर्यो । यसका निम्ति म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु । यसका निम्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले आफ्नो प्रस्ताव मन्तव्यमा बकाइदा प्रतिबद्धता जनाउनु भएको छ । उहाँले भन्नुभयो– यदि यी काम गर्न सकिनँ भने मेरो प्रधानमन्त्रीत्वमा औचित्य रहने छैन । यसमा विश्वास गर्नुस्, मलाई मत दिनुस् भनेपछि मत किन नदिने ? यति प्रतिबद्धता जनाउनु भएको छ, यति खुला र खुलस्त कुरा राख्नु भएको छ । खुलस्तै भन्नु भएको छ नि । पोहोर साल पनि यसैगरी नेपाली कांग्रेससँग पनि भोट माग्नु भएको थियो । यसपटक पनि नेपाली कांग्रेस सबैसँग भोट माग्नु भएको छ । नेपाली कांग्रेस अगाडि अगाडि लागेर भोट दिए हुन्छ । म यस प्रस्तावलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि यस प्रतिनिधि सभाको, यस गरिमामय प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरालाई समर्थन गर्दछु र सबै साथीहरूलाई समर्थन गर्न आग्रह पनि गर्दछु । धन्यवाद !

तपाईको प्रतिक्रिया