सांसद रघुजी पन्तको प्रस्ताव : संसदीय समितिमा पत्रकारलाई रोक लगाउनुपर्छ

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले संसदीय समितिका बैठकहरूमा पत्रकारलाई प्रवेश निषेध गर्नुपर्ने प्रस्ताव राखेका छन्। निजामती विधेयकसम्बन्धी संसदीय उपसमितिको प्रतिवेदनमाथि सोमबार सिंहदरबारमा भएको छलफलका क्रममा सांसद पन्तले सरकारी कर्मचारीहरू पत्रकारको उपस्थिति र खबर बाहिरिने डरले समितिमा स्वतन्त्र रूपमा बोल्न नसक्ने अवस्था सिर्जना भएको बताएका हुन्।

उनले भने, “मिसइन्फर्मेसन (भ्रामक सूचना) फैलिन थालेपछि समितिमा कर्मचारीहरू बोल्न हिच्किचाउन थालेका छन्। मुख्य सचिव वा अन्य उच्च अधिकारीले बोलेका कुरा बाहिर अपव्याख्या भएर आलोचना हुन थाल्छ भने उनीहरू फेरि कसरी समितिमा आएर खुलेर बोल्न सक्छन्?”

सांसद पन्तले अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण दिँदै समितिका बैठकहरू सधैं खुला नहुने प्रचलन रहेको बताए। “मैले अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायत देशहरूको अभ्यास हेरेँ। त्यहाँ पत्रकारलाई सबै बैठकमा प्रवेश दिइँदैन। भारत र बंगलादेशमा त समितिमा पत्रकार छिर्न नै पाउँदैनन्। त्यसैले अन्तिम प्रतिवेदन मात्र सार्वजनिक गर्नुपर्छ,” उनले भने।

पन्तले आफूहरू भ्रष्टाचार लुकाउने उद्देश्यले यस्तो प्रस्ताव नगरेको स्पष्ट पार्दै समितिको कार्यदिशा स्पष्ट र जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।

उनले हालै समितिले पारित नै नगरेको ‘भ्रष्टाचारी कर्मचारीलाई पेन्सन दिने’ विषय बाहिर आएकोप्रति आपत्ति जनाए। अवकाशप्राप्त कर्मचारीहरूलाई भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन सुविधा दिनसक्ने भन्ने विषय बाहिर आएपछि त्यसको गलत अर्थ लागिएको भन्दै उनले सञ्चार माध्यममा यस्ता विषय जानु अनुचित रहेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया