साताभर सेयर बजारको गिरावट

काठमाडौं — यो साताभर सेयर बजारमा गिरावट आएको छ। साताको पहिलो दिन आइतबारदेखि सेयर बजार ओरालो लाग्न थाल्यो र बिहीबारसम्म घट्ने क्रम जारी रह्यो। आज नेप्से परिसूचक १२.२८ अंकले घटेर २६६९.७६ विन्दुमा अडियो। आइतबार नेप्से परिसूचक २१.६४ अंकले घटेको थियो भने सोमबार १०.१४, मंगलबार ७.६६, र बुधबार १४.८८ अंकले घटेको थियो।

नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि साताभर घट्दै गयो। आज ३१२ स्क्रिप्सका ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँको कारोबार भयो। आइतबार ६ अर्ब ८३ करोडको कारोबार भएको थियो भने सोमबार ५ अर्ब ४० करोड, मंगलबार ४ अर्ब र बुधबार ५ अर्ब बराबरको कारोबार भएको थियो।

साताभर कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा पुग्न सकेन। आज डोल्टी पावरको सेयर ७.५६ प्रतिशतले बढ्यो। जबकि दोहोरो अंकले घटेका सेयर बजारमा दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट लाग्यो। मिथिला लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डभलपमेन्टको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको सेयर २८ करोड २१ लाख मूल्यमा कारोबार भयो। हिमालयन रिइन्स्योरेन्सको २३ करोड, सिन्धु विकास बैंक र युनाइटेड मोदी हाइड्रोपावरको १६/१६ करोड मूल्य बराबरको कारोबार भयो। घलेम्दी हाइड्रोको १३ करोडको कारोबार भयो। कारोबारमा आएकामध्ये ६२ स्टक्सको मूल्य बढ्दा १७५ वटाको घट्यो, भने बाँकी ७ स्टक्सको मूल्य स्थिर रह्यो। ट्रेडिङ समूहको उपसूचकबाहेक अन्य सबै उपसूचक नकारात्मक देखिए।

तपाईको प्रतिक्रिया