सामाजिक सञ्जाल दर्ता गर्न सरकारले जारी गर्यो ३० दिने सूचना

काठमाडौं: सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिहरू, कम्पनीहरू वा संस्थाहरूलाई एक महिनाभित्र सरकारी निकायमा दर्ता गराउन सूचना जारी गरेको छ। एक महिनाभित्र दर्ता नगर्ने सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गराउन सकिने चेतावनी पनि दिइएको छ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गरेको हो। उक्त निर्देशिकाको दफा ३ मा भनिएको छ कि सामाजिक सञ्जाल सञ्चालन गर्ने वा गर्न चाहने व्यक्तिहरू, कम्पनीहरू वा संस्थाहरूले मन्त्रालयमा सूचीकरणका लागि आफैं वा प्रतिनिधि मार्फत तोकिएका कागजात सहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

यसमा नेपालमा सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमनको निगरानी गर्ने अधिकारीको व्यवस्था पनि गर्नुपर्ने प्रावधान रहेको छ।

अहिलेसम्म भाइबर, टिकटक र सारांश मिडिया ल्याब प्रा.लि. (वीटक) मन्त्रालयमा सूचीकरण भइसकेका छन्। यद्यपि, नेपालमा सञ्चालन भइरहेका अन्य सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले ३० दिनभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ।

सूचनामा भनिएको छ, “सम्पर्क बिन्दु, गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालन निगरानीको व्यवस्था गर्नुहोस्। तोकिएको समयमा दर्ता नगरेमा उक्त सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशनको दफा ३ को उपदफा (७) अनुसार रोक लगाइनेछ।”

तपाईको प्रतिक्रिया