सिरियाली विद्रोहीसँग प्रत्यक्ष सम्पर्कमा छौं : अमेरिकी विदेशमन्त्री

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियामा राष्ट्रपति बसर अल-असदलाई परास्त गरेको हयात तहरीर अल-साम (एचटीएस) विद्रोहीसँग प्रत्यक्ष सम्पर्क गरेको बताएका छन् । हालसम्म पनि आतंककारी संगठनको सूचीमा रहेको एचटीएससँग अमेरिकाले पहिलोपटक प्रत्यक्ष सम्पर्क गरेको हो .

विदेशमन्त्री ब्लिन्केनले हराइरहेका अमेरिकी पत्रकार अस्टिन टाइसको अवस्थाका विषयमा एटीएससँग सम्पर्क गरेको बताएका बीबीसीले जनाएको छ । उनीसहित टर्की, अरबी र युरोपेली देशका प्रतिनिधिहरूले सिरियाको राजनीतिक संक्रमण र भविष्यबारे जोर्डनमा आयोजित बैठकमा छलफल गरेका छन् ।

छलफलमा उपस्थित अधिकारीहरूले सिरियाको शान्तिपूर्ण संक्रमण प्रक्रियालाई समर्थन गर्ने सहमति गरेका छन् । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सबै सिरिया सरकारले सबै नागरिकलाई समेट्ने र अल्पसंख्यकको अधिकारको सम्मान गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइकएको छ ।

जोर्डनका विदेशमन्त्रीले क्षेत्रीय शक्तिहरूले सिरिया अराजकतातर्फ उन्मूख भएको हेर्न नचाहेको बताएका छन् । सिरियामा केही सातायताका अशान्तिपूर्ण घटनापछि देशभित्र र बाहिर जारी वार्ताले सबै सिरियालीको प्रतिनिधित्व हुनेगरी नयाँ शासन व्यवस्था स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ ।

इराकी विदेशमन्त्री फुआद हुसेनले मध्यपूर्व (पश्चिम एसिया) र त्यसभन्दा बाहिर पनि सिरियाको भविष्यका विषयमा चिन्ता व्यक्त गरेका बीबीसीले जनाएको छ । लिबियामा कर्नेल गद्दाफीलाई सत्ताबाट हटाएपछि उत्पन्न अराजकतालाई संकेत गर्दै उनले क्षेत्रीय देशहरूले अर्को लिबिया हेर्न नचाहेको बताए ।

टर्कीका विदेशमन्त्री हकान फिदानले सिरियाका वर्तमान संस्थाहरूलाई संरक्षण र सुधार गर्नुपर्ने बताउँदै संक्रमणकालमा आतंककारी गतिविधिहरू रोकिनुपर्ने बताए । जोर्डनमा भएको पछिल्लो छलफलमा भने एचटीएसका कुनै प्रतिनिधि उपस्थित थिएनन् । साथै, असदलाई आर्थिक सहयोग गर्ने दुई प्रमुख देशहरू इरान र रुस पनि अनुपस्थित थिए ।

गत साता एचटीएस नेतृत्वको विद्रोही समूहहरूले सिरियामाथि नियन्त्रण कायम गरेसँगै राष्ट्रपति असद देश छाडेर भागेका थिए । उनी रुसी राजधानी मस्को पुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया