सुनको मूल्य एकै दिनमा चार हजारले वृद्धि

काठमाडौं : शुक्रबार सुनको मूल्य एकै दिन चार हजार रुपैयाँले वृद्धि भएको छ, जसले गर्दा अहिले सुनको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबारको तुलनामा शुक्रबार सुनको मूल्य चार हजार रुपैयाँले बढ्दा चाँदीको मूल्य पनि ५० रुपैयाँले वृद्धि भएको छ।

महासंघका अनुसार, आज सुनको मूल्य तोलामा एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुगेको छ। यसअघि बुधबार सुनको मूल्य तोलामा एक लाख ७० हजार पाँच सय रुपैयाँ थियो।

त्यस्तै, बुधबार दुई हजार रुपैयाँको रहेका चाँदीको मूल्य शुक्रबार ५० रुपैयाँले बढेर २०५० रुपैयाँ पुगेको छ।

फागु पूर्णिमाको अवसरमा बिहीबार महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गरेको थिएन।

यसअघि फागुन महिनामा सुनको मूल्य सबैभन्दा बढी एक लाख ७१ हजार तीन सय रुपैयाँ प्रतितोला कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया