सुनचाँदीको अवैध कारोबारमा संलग्न नौ भारतीय पक्राउ

सुनचाँदीको अवैध कारोबारमा संलग्न रहेको आरोपमा नौ भारतीय नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ परेकाहरूबाट करिब दुई करोड रुपैयाँ बराबरको अवैध सुन, चाँदी र नगद बरामद गरिएको छ। उनीहरूबाट एक करोड ७० लाख १० हजार रुपैयाँ बराबरको सुन, ३० लाख नौ हजार बराबरको चाँदी तथा आठ लाख २७ हजार नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरू सबै भारतको महाराष्ट्र राज्यका बासिन्दा भएको पुष्टि भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।

अवैध कारोबारसम्बन्धी थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेकाहरूलाई राजश्व अनुसन्धान विभागमा बुझाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया