सेवा शुल्क निर्धारणका लागि स्वतन्त्र विज्ञ समिति गठन हुने : श्रममन्त्री भण्डारी

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिने सेवा शुल्कको स्पष्ट मापदण्ड तय गर्न स्वतन्त्र उच्चस्तरीय विज्ञ समिति गठन प्रक्रिया अघि बढाइएको बताएका छन्।

शुक्रबार आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१औं साधारण सभामा मन्तव्य दिँदै मन्त्री भण्डारीले, सेवा शुल्कको दर निर्धारण विज्ञ समितिको सिफारिसका आधारमा गरिने जानकारी दिए।

हालसम्म वैदेशिक रोजगार व्यवसायीहरू एक महिनाको तलब बराबरको सेवा शुल्क लिने माग गर्दै आएका छन्। यद्यपि, सरकारले २०७० सालमा सेवा शुल्कको सीमा १० हजार रुपैयाँसम्म मात्र तोकेको थियो।

मन्त्री भण्डारीका अनुसार नयाँ विज्ञ समितिको सुझावअनुसार सेवा शुल्कको दर पुनः समीक्षा गरी आवश्यक निर्णय लिइनेछ। साथै, उनले युरोपमा श्रमिक पठाउन रोकिएको प्रक्रियालाई सहज बनाउँदै, मागपत्र प्रमाणीकरण कार्य एक महिनाभित्र सुरू गरिने प्रतिबद्धता पनि जनाए।

तपाईको प्रतिक्रिया