स्पेसएक्सको रकेट विस्फोट, मंगल ग्रहको मिसनमा दोस्रो असफलता

काठमाडौँ। अमेरिकी अन्तरिक्ष एजेन्सी ‘स्पेसएक्स’को रकेट बिहीबार प्रक्षेपण गरिएको केही समयमै विस्फोट भएको छ। अमेरिकाको टेक्सासबाट प्रक्षेपण गरिएको स्टारसिप रकेट विस्फोट भएको हो, जुन मंगल ग्रहमा अन्तरिक्षयान पठाउने मिसनमा स्पेसएक्सको दोस्रो असफलता हो।

अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले अहिलेसम्मको सबैभन्दा शक्तिशाली प्रक्षेपण प्रणाली, स्टारसिप तयार पारेको थियो। यसको माथिल्लो भाग बिहीबार आठौं परीक्षण उडानको क्रममा विस्फोट भएको हो।

विस्फोटसँगै आकाशमा आगोको झिल्कासहित रकेटका टुक्रा खस्दा हवाई यातायातमा अवरोध आएको थियो। दक्षिण फ्लोरिडा र बहामास नजिकको आकाशमा साँझको समयमा यो घटनाले गर्दा दृश्य देखिएको थियो।

१२३ मिटर अग्लो रकेट एक घण्टासम्म उडान गर्दा हिन्द महासागरमाथिबाट पृथ्वीको कक्षमा पुनः प्रवेश गर्ने लक्ष्य राखिएको थियो।

रकेटको सुपर हेभी बूस्टर, जसले जमिन छोड्न मद्दत पुर्‍याउँछ, सफलतापूर्वक लन्चप्याडमा फर्किएको थियो।

स्पेसएक्सका प्रवक्ता डान हुओटले यस अघि पनि यस्तो दुर्भाग्यपूर्ण घटनाको उल्लेख गरेका थिए।

क्यारिबियन क्षेत्रमा रकेटका भग्नावशेष फैलिएका कारण अमेरिकाको संघीय उड्डयन प्रशासनले मियामी, फोर्ट लाउडरडेल, पाम बिच र ओर्लान्डो विमानस्थलहरूमा साँझ ८ बजेसम्म व्यावसायिक उडानहरूमा रोक लगाएको थियो। केही उडानहरू डाइभर्ट गरिएको पनि रिपोर्ट गरिएको छ।

यस अघि, १६ जनवरीमा मंगल ग्रहको परीक्षण मिशनमा पठाउने पहिलो प्रयास पनि असफल भएको थियो। अब, यो स्पेसएक्सको दोस्रो असफल प्रयास बनेको छ, जसले मस्कको मंगल ग्रहमा मानिस पठाउने र त्यहाँ बसोबासका लागि सुविधाहरू बनाउने योजनामा ठूलो धक्का पुर्याएको छ।

तपाईको प्रतिक्रिया