स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारतको बिहार, मोतिहारी जिल्लाको कुन्डवा चैनपुर बजार निवासी २३ वर्षीय राज किशोर ठाकुर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दीपक कुमार रायका अनुसार ठाकुर आइतबार दिउँसो पथराबुधराम क्षेत्रमा चेकजाँचका क्रममा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकल जाँच गर्दा सिटमुनि लुकाएर राखिएको झोलाबाट रकम बरामद गरिएको थियो।

बरामद रकममध्ये एक हजार दरका ६ सय थान र पाँच सय दरका ८ सय थान नेपाली नोट रहेका छन्।

प्रहरीका अनुसार ठाकुरको साथमा उक्त रकमको वैध स्रोत खुलाउने कुनै कागजात फेला परेको छैन। हाल जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान जारी राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया