स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

काठमाडौँ — स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्षका रूपमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा थापालाई पद र गोपनीयताको शपथ गराएका छन्।

प्युठानका निवासी थापा यसअघि तीन वर्षसम्म बोर्डका सदस्य थिए। नयाँ अध्यक्ष थापाले स्वास्थ्य बीमामा सुधार गर्नका लागि बीमा नीतिको पुनरावलोकन र सुधार गर्दै सबै नागरिकलाई समेट्ने योजना रहेको बताएका छन्।

उनले बिमाको दाबी भुक्तानी प्रक्रिया छिटो र पारदर्शी बनाउने, बीमा कोषको पारदर्शी र प्रभावकारी व्यवस्थापन गर्ने र स्वास्थ्य बीमा बोर्डको स्थायी संगठन संरचना स्वीकृतिका लागि पहल गर्ने प्रतिबद्धता जनाए। साथै, स्वास्थ्य बीमाको महत्त्वबारे जनचेतना फैलाउने र सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरी बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने कुरामा पनि उनले जोड दिएका छन्।

तपाईको प्रतिक्रिया