स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार नियमित रूपमा भिडियो ब्रिफिङ गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारदेखि नियमित रूपमा मन्त्रालयका गतिविधिहरूसम्बन्धी भिडियो ब्रिफिङ गर्ने निर्णय गरेको छ। मन्त्रालयले प्रत्येक शुक्रबार दिउँसो १:३० बजे ३० मिनेटको ब्रिफिङ मार्फत साताभरिका नीतिगत निर्णय, गतिविधि र स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण जानकारी उपलब्ध गराउने छ, मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

आजको मिडिया ब्रिफिङमा डा. बुढाथोकीले भने, “साताभरिका नीतिगत वा कार्यगत निर्णय, स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण सूचना र जानकारी सर्वसाधारण र सरोकारवालासम्म सहज रूपमा पुर्‍याउनका लागि यो प्रक्रिया सुरु गर्न लागेका हौँ।”

यसअघि कोभिड महामारीको समयमा पनि मन्त्रालयले नियमित भिडियो ब्रिफिङ गर्दै आएको थियो। हाल मन्त्रालयले प्रेस विज्ञप्ति र सामाजिक सञ्जालमार्फत सूचना र जानकारी सार्वजनिक गर्दै आएको छ।

प्रवक्ता बुढाथोकीले बिहीबार बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिहरू प्राप्त गरिएको जानकारी दिए। ती औषधिहरू भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पताललाई हस्तान्तरण गरिएको बताइएको छ।

मिडिया ब्रिफिङमा डा. बुढाथोकीले गत माघ २२ देखि फागुन ६ गतेसम्म चलेको पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा कुल लक्ष्यको ९२ प्रतिशतले खोप लगाएको जानकारी दिए।

उनले कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १४ लाख ३५ हजार ७८९ बालबालिकालाई खोप प्रदान गरिएको बताए। हिमाली भेगका मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा अहिले हिमपात भइरहेकाले खोप अभियानमा कठिनाइ आएको छ, र फागुन अन्त्यसम्म उनीहरूलाई खोप लगाइने जानकारी दिइएको छ।

अभियानमा छुटेका बालबालिकाले पछि पायक पर्ने स्वास्थ्य संस्थामा गएर खोप लगाउन सक्ने व्यवस्था मिलाइएको छ।

देशभरि ३० देखि ४९ वर्षसम्मका ९२ हजार २७३ महिलाले यो आर्थिक वर्षको मध्यसम्म पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराएको डा. बुढाथोकीले बताए।

यसमा ६० हजार ९३७ महिलाले भिआइए विधिबाट, ९ हजार ९२७ महिलाले एचपिभी डिएनए विधिबाट र २१ हजार ४०९ महिलाले प्याप स्मेयर विधिबाट परीक्षण गराएका छन्।

प्रवक्ता डा. बुढाथोकीले बाँके जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान चलिरहेको जानकारी पनि दिएका छन्।

यो अभियान ५ फागुनदेखि नेपालगन्ज उपमहानगरपालिका र ७ फागुनदेखि डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिका–४ मा चलाइँदैछ, र यो अभियान एक महिना सम्म सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया