हवाई सेवा र नागरिक उड्डयन प्राधिकरणसँग सम्बन्धित दुई अलग विधेयक संसदमा दर्ता

सरकारले हवाई सेवा र नागरिक उड्डयन प्राधिकरणसम्बन्धी बेग्लाबेग्लै विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ।नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ संसद आइतबार दर्ता भएको हो।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त विधेयक दर्ता गराएका हुन्।सरकारले हवाई क्षेत्र सुरक्षित बनाउन नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरी विधेयक बनाएको हो।

सरकारले नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउन यसअघि पनि विधेयक ल्याएको थियो। प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुइटा संस्था बनाउने तयारी गरिएको थियो। उक्त विधेयक राष्ट्रिय सभाबाट पारितसमेत भई प्रतिनिधि सभामा आए पनि अघि बढेको थिएन।अहिले सरकारले पुन: प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुइटा संस्था बनाउने गरी विधेयक ल्याएको छ। 

तपाईको प्रतिक्रिया