हुलाकी राजमार्ग निर्माणमा भारतले चासो नदेखाएको भए काम अघि बढ्दैन थियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्गको निर्माणमा उल्लेख्य प्रगति भएको दाबी गरेका छन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्पष्ट र कडा संवाद नगरेको भए भारतले उक्त परियोजनामा चासो देखाउने थिएन भनेर बताए।

पश्चिम नवलपरासीको प्रतापपुरस्थित बेलाटारी र पाल्हीनन्दनमा आयोजित हुलाकी राजमार्ग केन्द्रित “जनतासँग माओवादी–तराई–मधेस जागरण अभियान” अन्तर्गतको खबरदारी जनसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनका अनुसार, लामो समयदेखि अलपत्र परेको हुलाकी राजमार्गको काम उनले दोस्रोपटक प्रधानमन्त्री भएपछि गति लिन थालेको हो। भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीलाई राजमार्गको निर्माणमा भारतले भूमिका नखेले नेपाल आफैंले बजेट छुट्याएर निर्माण अघि बढाउने चेतावनी दिएको उनले स्मरण गरे। त्यसपछि भारत सरकार यसमा गम्भीर बनेको उनको भनाइ छ। “मैले मोदीजीसँग स्पष्ट रूपमा भने, तपाईंहरूले गर्नुहुन्छ भने ठीक, होइन भने नेपाल आफैं अघि बढ्छ,” उनले भने।

उनका अनुसार, सोही भ्रमणपछि २०७३ सालमा सिरहाको बरियारपट्टीबाट शिलान्यास गर्दै काम अघि बढाइएको थियो। अहिलेसम्म करिब ३५० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको र बाँकी रहेको कामलाई पनि समयमा सम्पन्न गर्न आफूले पहल गरिरहेकाले काम अझ तीव्र हुने उनले बताए।

सरकारमा बेथिति र भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाउँदै प्रचण्डले सो अभियानमार्फत भ्रष्टाचारविरुद्ध आवाज उठाउन खोजिएको उल्लेख गरे। जनसभाअघि उनले मुक्तिनाथ पिठाधिश्वर कमलनयनाचार्यद्वारा स्थापना गरिएको त्रिवेणीस्थित गजेन्द्र मोक्षधामको दर्शनसमेत गरेका थिए।

प्रचण्ड माओवादीका नेताहरू नन्दकिशोर पुन, कृष्णबहादुर महरा, अग्नि सापकोटालगायतको टोलीसहित मंगलबार राति पश्चिम नवलपरासी पुगेका थिए। त्यहाँ उनले जनयुद्धका सहिद र बेपत्ता योद्धाका परिवारजनसँग समेत भेटघाट गरेका थिए।

तपाईको प्रतिक्रिया