हेटौँडा यातायात व्यवस्था कार्यालयले ६ महिनामा २९ करोड एक लाखभन्दा बढी राजस्व संकलन

यातायात व्यवस्था कार्यालय हेटौँडाले चालू आर्थिक वर्ष ०८१/८२ को ६ महिनामा २९ करोड एक लाखभन्दा बढी राजस्व संकलन गरेको छ। नयाँ सवारी दर्ता, नवीकरण, र सवारीचालक अनुमतिपत्र वितरणजस्ता सेवाबाट कार्यालयले साउनदेखि पुस महिनासम्म २९ करोड १ लाख ७५ हजार ६५१ राजस्व संकलन गरेको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिएका छन्।

राजस्वको स्रोतमा सवारीचालक अनुमतिपत्र वितरणबाट १७ करोड ३८ लाख २१ हजार १४९, सवारी करबाट ४ करोड ५३ लाख ६८ हजार ३३१, यातायात क्षेत्रको आम्दानीबाट ४ करोड ५६ लाख ७० हजार ८११, संघीय राजस्वबाट १ करोड ८१ लाख २५ हजार १८० र बेरुजुबाट ८ हजार २५० रुपैयाँ संकलन भएको छ।

यस अवधिमा, २ हजार ५५८ नयाँ सवारी दर्ता गरिएको छ, जसमा १ हजार २८० मोटरसाइकल, ५१३ साना सवारी, ३३७ टेम्पो-ई–रिक्सा, ३२१ ठूला र मझौला सवारी, र ५ ट्याक्टर छन्। त्यस्तै, ३ हजार ६११ जनाले सवारीचालक अनुमतिपत्र प्राप्त गरेका छन्, जसमा २ हजार १६३ नयाँ र १ हजार ४४८ वर्ग थप गरिएका छन्।

अघिल्लो वर्षको तुलनामा, ०८०/८१ मा कार्यालयले ५६ करोड ७ लाख १७ हजार राजस्व संकलन गरेको थियो र ४ हजार ३९९ सवारी दर्ता गरिएको थियो।

तपाईको प्रतिक्रिया