१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो: प्रधानमन्त्री ओली

काठमाडौँ, १४ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) काठमाडौंमा के-के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने दाबी गरेका छन्।

आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तिललाई पहाड बनाउने काम भएको टिप्पणी गरे।

भोलि (चैत १५) समाजवादी मोर्चामा संलग्न दलहरूले काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने छन् भने, राजावादी समूहले पनि प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।

प्रधानमन्त्री ओलीले भने, “दैनिक १०–१५ हजार मान्छे उपस्थित भएका जुलुस नेपालमा निस्किरहेका छन् र भोलि पनि त्यही हुनेछ। तिललाई पहाड बनाइरहनु पर्दैन।”

“एउटा भृकुटीमण्डपमा जुलुस निस्किएर सभा हुन्छ, एउटा कोटेश्वरमा सभा हुन्छ। हुने त्यति हो,” उनले थपे।

यस्ता सभा सधैं हुने गरेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई महत्त्व न दिन र विकासका काममा ध्यान केन्द्रित गर्न आग्रह गरे।

“यो सभा सधैं हुने गरेको छ, भोलि पनि हुने त्यति नै हो। यहाँ एउटा डर, त्रास छ, के-के न हुन्छ भनेर। त्यस्तो केही छैन। यस्ता कुरामा वास्ता नगरी हामीले हाम्रो विकासका काममा अघि बढ्नुपर्छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो।

तपाईको प्रतिक्रिया