२ रनको थ्रिलिङ जितसहित लखनउ चौथो स्थानमा, राजस्थान संकटमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जयपुरमा भएको खेलमा लखनउ सुपर जायन्ट्सले घरेलु टोली राजस्थान रोयल्समाथि २ रनको रोमाञ्चक जित हात पारेको छ।

सवाई मानसिंह स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफी लक्ष्य पछ्याउने क्रममा राजस्थान २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रनमै सीमित भयो।

राजस्थानका ओपनर यशस्वी जैसवालले ५२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ७४ रन बनाए। अर्का ओपनर वैभव सूर्यवंशीले ३४ रनको योगदान दिए। कप्तान रियान परागले ३९ रन बनाए भने सिम्रोन हेटमायरले १२ रन बनाए। ध्रुव जुरेल (६) र शुभम दुबे (३) नटआउट रहे।

लखनउका लागि आवेश खानले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएका थिए। सार्दुल ठाकुर र एडन मक्रमले एक/एक विकेट लिए।

यसअघि लखनउका ओपनर एडन मक्रमले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाएका थिए। मध्यक्रमका ब्याटर आयुष बढोनीले ५० रनको अर्धशतक पूरा गरे। अब्दुल सहमत ३० रनमा र डेविड मिलर ७ रनमा अविजित रहे।

राजस्थानका बलर वानिन्दु हसरंगाले २ विकेट लिँदा जोफ्रा आर्चर, सन्दीप शर्मा र तुषार देशपाण्डेले एक/एक विकेट लिए।

यो जितसँगै लखनउ ८ खेलमा ५ जित र ३ हारसहित १० अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। अर्कोतर्फ राजस्थानले समान ८ खेल खेले पनि मात्र २ जित निकाल्दै ४ अंकसहित तालिकाको आठौं स्थानमा झरेको छ।

यसअघिको शनिबार दिउँसो भएको खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको थियो।

तपाईको प्रतिक्रिया