३ सय उत्तर कोरियाली सैनिक मारिए युक्रेन युद्धमा

सोल — युक्रेनविरूद्धको युद्धमा थप ३ सय उत्तर कोरियाली सैनिकहरूले ज्यान गुमाएका छन् । दक्षिण कोरियाली अधिकारीहरूका अनुसार २ हजार ७ सय सैनिक घाइते भएका छन् ।

दक्षिण कोरियाको गुप्तचर निकायका अनुसार युक्रेनविरूद्धको युद्धमा सघाउनका लागि उत्तर कोरियाले १० हजार सैनिक रूस पठाएको जनाएको छ । ती सैनिकहरू उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङलाई प्रतिबन्धित हतियार र स्याटेलाइट कार्यक्रमका लागि रूसी प्राविधिक सहयोगको बदलामा पठाएको दाबी गरिएको छ ।

गत शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशका सेनाले कोरियाका दुई सैनिकलाई घाइते अवस्पथामा पक्राउ गरेको जनाएका थिए । ती सैनिकलाई सोधपुछ गरिएको जनाउँदै उनले युक्रेनी सैनिकसँग साटासाटको सम्भावना रहेको बताएका थिए ।

‘रूसमा उत्तर कोरियाली सेनाको तैनाथी कुर्क्स् क्षेत्रलाई समेट्ने गरी विस्तार गरिएको छ । तीन हजारभन्दा बढी उत्तर कोरियाली सेनाको ज्यान गएको अनुमान गरिएको छ,’ सांसद ली सियोङ–क्वेनले नेसनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) को ब्रिफिङपछि पत्रकारसँग भने, ‘करिब ३ सयको मृत्यु र दुई हजार ७ सय सैनिक घाइते भएको पुष्टि भइसकेको छ ।’

उत्तर कोरियाको ‘स्टोर्म कोर’का ती सैनिकलाई बन्दी बन्नु भन्दा आत्महत्या गर्न आदेश दिइएको लीको भनाइ छ । ‘विशेष गरी मृतक सैनिकमा फेला परेका मेमोले उत्तर कोरियाली अधिकारीहरूले उनीहरूलाई पक्राउ गर्नुअघि आत्महत्या गर्न वा आत्मघाती विस्फोट गर्न दबाब दिइएको संकेत मिलेको छ,’ उनले भने ।

पक्राउ पर्न लागेका उत्तर कोरियाका एक सैनिकले ‘जनरल किम जोङ उन’ भन्दै चिच्याएर ग्रेनेड विष्फोट गर्ने प्रयास गरेको लीको दाबी छ ।उत्तर कोरियाली सैनिकले ‘आधुनिक युद्धबारे नबुझेका’ले पनि हताहत हुनेको सैनिकको संख्या उच्च रहेको जनाइएको छ । एनआईएसले यसअघि युक्रेन युद्धमा ११ सय उत्तर कोरियाली सैनिकले ज्यान गुमाएको जनाएको थियो ।

तपाईको प्रतिक्रिया