पूर्वराजा शाहलाई समितिमा बोलाउन कांग्रेस सांसद जीवन परियारको प्रस्ताव

काठमाडौँ — नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोलाएर हालैको विवादास्पद घटनाका सम्बन्धमा छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन्।

गृहमन्त्री रमेश लेखकको उपस्थितिमा शुक्रबार बसेको समितिको बैठकमा, सांसद परियारले चैत १५ गतेको घटनामा पूर्वराजाको संलग्नता रहेको हो कि होइन भन्ने प्रश्न उठाउँदै, समितिमा उहाँलाई उपस्थित गराएर जवाफ माग्नुपर्ने धारणा व्यक्त गरे।

उनले भने, “१५ गतेको घटना उहाँसँग सम्बन्धित छ कि छैन? समितिमा उहाँलाई बोलाएर सोध्नुपर्छ—यो मानवअधिकार उल्लंघन हो कि होइन? सामान्य नागरिकको हिसाबले यस्तो घटना गर्न पाउने छुट हुन्छ?”

सांसद परियारले पूर्वराजा अहिले कानुनी रूपमा एक सामान्य नागरिक मात्र भएको उल्लेख गर्दै, संविधानको दायराभित्र सबै नागरिक बराबरी हुने धारणा दोहोर्याए।

“कसैलाई पनि अराजकता र अमानवीय व्यवहार गर्ने छुट छैन। संविधानको नजरमा सबै नागरिक बराबर छन्। पूर्वराजालाई पनि सामान्य नागरिक सरहकै अधिकार छ, त्योभन्दा बढी होइन,” उनले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया