संसदमा राजपा नेता कर्णको प्रश्न : जनतालाई जबरजस्ती मनाउन मात्रै बनाएको हो संविधान?

राष्ट्रिय जनता पार्टीले संविधानिक व्यवस्था विपरित लोकसेवा आयोगले प्रदेशलाई समेत कर्मचारी परिपूर्तिका लागि विज्ञापन आव्हान गरेको भन्दै गम्भीर आपत्ती जनाएको छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले सरकार र संवैधानिक निकायले संविधानको कार्यान्वयन नगरेको आरोप लगाए । संविधान विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै सच्याउन उनले सरकारको ध्यानाकर्षण गराए ।

‘न्यायपरिषद्ले न्यायाधीश नियुक्त गर्दा समानुपातिक समावेशी छैन ।  मन्त्रीपरिषद्ले राजदुतहरुको नियुक्ति गर्छ समानुपातिक समावेशी हुदैन । संबैधानिक परिषद्ले विभिन्न आयोगमा नियुक्त गर्दा समानुपातिक समावेशी हुदैन्, ’ उनले भने, ‘अहिले त ९ हजार भन्दा बढी सिट लोकसेवा आयोगले निकालिरहेको छ । लोकसेवा आयोगले पनि नमान्ने यो संविधानलाई कसले मान्ने ?’

सरकार, संवैधानिक आयोग र न्यायपरिषद्ले नै नमानेको संविधान जनतालाई मात्र जबरजस्ती मनाउन बनाएको हो ? भन्दै उनले प्रश्न गरे । 

लोकसेवा आयोगले संघीय कर्मचारीको मात्रै नियुक्ति गर्नुपर्नेमा समग्र मुलुकभरका लागि विज्ञापन आव्हान गरिएकोप्रति उनले आपत्ति जनाए । आयोगले निकालेको विज्ञापनको विरोध भइरहदा पनि सच्याउनुको सट्टा ठिक गरेको भन्ने गरेकोमा उनले आक्रोस व्यक्त गरे । उनले प्रदेशमा पनि लोकसेवा आयोग रहने व्यवस्था संविधानमा गरिएको तर्फ सरकारको ध्यानाकर्षण गराए ।

स्थानीय तहलाई वेवास्ता गरेर समग्र देशभरको कर्मचारी नियुक्तिका लागि विज्ञापन आव्हान गर्न पाईन्छ ? भन्दै उनले संविधानमा व्यवस्था भएको पालना गर्न आग्रह गरे । ‘सरकारले आन्दोलन गर, आन्दोलनबाटै यो व्यवस्थित हुन्छ भन्ने ठानेको छ भने आन्दोलनबाट पनि हामी पछि हट्दैनौ,’ उनले भने, ‘यदि यसमा परिर्वतन भएन भने आन्दोलन पनि अगाडि बढ्छ ।’

उनले मधेस आन्दोलनको अध्ययन प्रतिवेदन सार्वजनिक नगरिएकोमा पनि असन्तुष्टि व्यक्त गरे।  सरकारले अबिलम्ब जवाफ नदिए बजेट सेसन अवरोध गर्ने उनले चेतावनी दिए । 
सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराउने वित्तिकै राजपाका सांसदहरु उभिएपछि कर्णलाई बोल्ने समय दिएका थिए । 

ccopy from nayapatrikadaily.com

तपाईको प्रतिक्रिया