७७ करोड ५५ लाख लुम्बिनी विकास कोषको बजेट पारित

लुम्बिनी — लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि ७७ करोड ५५ लाख ९२ हजार रुपैयाँको बजेट पारित गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले उक्त बजेट स्वीकृत गरेको हो। कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रस्तुत गरेको बजेटमा आन्तरिकतर्फ ३२ करोड ५५ लाख ९२ हजार रुपैयाँ र सरकारको अनुदानबाट ४५ करोड रुपैयाँ आम्दानीको अनुमान गरिएको छ।

आगामी वर्षको नीति तथा कार्यक्रम प्रतिवेदन कोषका सदस्यसचिव सानुराजा शाक्यले प्रस्तुत गरे, जसमा दर्शनार्थीको सङ्ख्या वृद्धि, दियो बत्ती सेवा विस्तार, उपहार तथा चन्दा व्यवस्थापन, काठ लिलाम बिक्री, पार्किङ, र लुम्बिनी प्रवर्द्धनात्मक सामग्री उत्पादन प्राथमिकतामा राखिएको छ।

व्ययतर्फ, लुम्बिनी गुरुयोजना कार्यान्वयन, युनेस्को विश्व सम्पदा कमिटीका सुझाव कार्यान्वयन, पूर्वाधार निर्माण, तिरौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तथा स्थानीय तहसँग सहकार्यलाई प्राथमिकता दिइएको छ।

बैठकमा मन्त्री पाण्डेले लुम्बिनीको विकासमा मन्त्रालय र आफू सकारात्मक सहयोगमा रहने प्रतिवद्धता व्यक्त गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएकोले लुम्बिनीको पर्यटकीय लाभमा सहयोग पुग्ने बताए।

राज्यमन्त्री अरुण चौधरीले बैठकमा समयको सदुपयोग गर्दै तीव्रता दिनुपर्नेमा जोड दिए। बैठकमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी विकास कोषलाई अर्थ, परराष्ट्र, गृह र पर्यटन मन्त्रालयबाट पर्याप्त सहयोग नपाएको गुनासो राख्दै सहयोग विस्तार भएमा सरकारले अनुदान बिना नै लुम्बिनी गुरुयोजना कार्यान्वयन सक्न सकिने विचार व्यक्त गरे।

साथै, बैठकले लुम्बिनीमा निर्माण भएका तर सञ्चालनमा नरहेका बिहार तथा गुम्बाको करार र पुनःमूल्याङ्कनको लागि अध्ययन कार्यदल गठन गर्ने र कोषका कर्मचारी संरचनामा आवश्यक परिवर्तन गर्ने निर्णय पनि गरेको छ।

तपाईको प्रतिक्रिया