विश्वकै वायु प्रदूषित सहरको शीर्ष १० मा काठमाडौँ

काठमाडौं, मंगलबार बिहान राजधानी काठमाडौँको हावाको गुणस्तर निकै ‘अस्वस्थ’ अवस्थामा पुगेको छ। आईक्यू एयरले जारी गरेको तथ्याङ्क अनुसार, काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहरको शीर्ष १० सूचीमा परेको छ। काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) बिहान १० बजे १५१ मापन गरिएको थियो, जसलाई स्वास्थ्यका लागि अस्वस्थ मानिन्छ।

आईक्यू एयरको तथ्याङ्क अनुसार, पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा सूचीकृत भएको छ, जसको एक्यूआई ७७३ मापन गरिएको छ, जुन अत्यन्त खतरनाक मानिन्छ। दोस्रो स्थानमा रहेको भारतको राजधानी नयाँ दिल्लीको एक्यूआई ३११ पुगेको छ, जुन स्वास्थ्यको दृष्टिकोणले पनि खतरनाक हो।

त्यसपछि क्रमशः शीर्ष स्थानमा रहेका अन्य सहरहरुमा कंगोको किनसासा, उज्बेकिस्तानको तास्केन्त, भियतनामको हानोई, इजिप्टको कायरो, बहराइनको मानामा, बोस्निया हर्जगोविनाको साराजेभो र भारतको मुम्बई रहेका छन्।

विशेषज्ञहरुका अनुसार, वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पुर्याउने खतरा बढाइरहेको छ। उच्च वायु प्रदूषणले विशेषगरी बालबालिका, वृद्धवृद्धा, र दीर्घरोगीहरुका लागि स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

तपाईको प्रतिक्रिया