जापानको प्रधानमन्त्रीमा इसिबा पुन: निर्वाचित

टोकियो — जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबाले प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि संसद्‌मा बहुमत प्राप्त गरेका छन् । संसद्‌मा सोमबार भएको मतदानमा उनले विपक्षी नेता योसिहिको नोडालाई पराजित गरेका हुन् ।  
प्रधानमन्त्रीको मतदानका लागि बाटो खोल्न इसिबाले सोमबारको संसद्को विशेष अधिवेशनअघि राजीनामा दिएका थिए । त्यसको केही घण्टापछि संसद्‌मा मतदान भएको हो ।गत अक्टुबरमा भएको मतदानमा इसिबाले पार्टी एलडीपीले र उसको साझेदार कोमेटोले संसद्‌मा बहुमत गुमाएको थियो । ४ सय ६५ सदस्यीय संसद्‌मा एलडीपी–कोमेटो गठबन्धन २ सय १५ सिटमा खुम्चिएको थियो । तर कुनै पनि नेताले प्रधानमन्त्री बन्न संसद्‌मा आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि संसदको विषेश अधिवेशनबाट उनी प्रधानमन्त्रीमा चयन भएका हुन् ।

अब उनले आफ्नो पार्टीभित्रको शत्रुतासँगै देशको आर्थिक संकट व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नुपर्ने भएको छ । अल्पमतको सरकारको नेतृत्वकर्ताका रुपमा उनले कुनै पनि कानुन वा बजेट पारित गर्नका लागि विपक्षी गुटको मागलाई ध्यान दिनु पर्ने चुनौतीको सामना गर्नुपर्ने भएको छ ।

पूर्वरक्षामन्त्री इसिबाले किसिदा र जापानको सबैभन्दा लामो समय सेवा गर्ने नेता सिन्जो आबेलगायत आफ्नो पार्टीका नेताहरूको खुलेर आलोचना गरेपछि जापानको राजनीतिमा चर्चामा आएका थिए । एलडीपी उम्मेदवारहरूबीचको कडा प्रतिस्पर्धापछि इसिबा अक्टुबर १ मा जापानको सत्तारुढ दलको नेता चयन भएका थिए । कार्यभार सम्हालेको केही दिनपछि उनले चुनाव घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया