भलिबल खेलाडी उषा भण्डारी सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य उषा भण्डारीलाई ज्ञान संस्कार इन्टरनेसनल स्कुलले सम्मान गरेको छ । सोमबार सामाखुसीको ज्ञान संस्कार इन्टरनेसनल स्कुलले ‘स्पोर्ट्स डे’को अवसरमा उषालाई सम्मान गरेको प्रधानाध्यापक निलम बानिया बडुले जानकारी दिइन् ।

नेपाली भलिबल र समग्र खेलकुदलाई उचाइँमा पुर्‍याउन भूमिका खेलेकाले सम्मान गरिएको उनले बताइन् । “भलिबलमात्रै हैन, नेपाली खेलकुदलाई प्रवर्धन गर्न उषाले ठूलो योगदान गर्नुभएको छ । उहाँको योगदानलाई कदर गर्न पाउँदा स्कुल परिवार खुसी छौँ,” उनले भनिन् ।

हाल उषा विभागीय टोली नेपाल पुलिस क्लबबाट व्यावसायिक भलिबल खेलिरहेकी छन् ।

स्पाइकर उषाले ज्ञान संस्कार स्कुलले खेलकुदमा गरेको योगदानको प्रशंसा गरिन् । उनले स्कुलबाट सम्मान पाउनु खेलाडीका लागि खुसीको क्षण रहेको बताइन् ।

“आधुनिक शैक्षिक क्षेत्रमा फरक परिचान बनाएको स्कुलले खेलकुद विकासमा पनि ठूलो योगदान गरिरहेको छ । यसबाट प्रभावित भएँ । मलाई विश्वास गरेर सम्मान गर्नुभएकोमा खुसी छु,” उषाले भनिन् । 

स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको साप्ताहिक खेलकुद कार्यक्रम पनि सोमबार नै सम्पन्न गरेको छ ।

एक साता चलेको खेलकुद प्रतियोगितामा ब्याडमिन्टन, कवड्डी, बास्केटबल, बुद्धिचाल, स्केटिङ लगयात विभिन्न १९ खेल समावेश थियो ।
 

तपाईको प्रतिक्रिया