दक्षिण कोरियाली राष्ट्रपतिलाई विदेश जान प्रतिबन्ध

दक्षिण कोरियाली राष्ट्रपति यून सुक योललाई विदेश जानबाट रोक लगाइएको छ।

दक्षिण कोरियाली कानुन मन्त्रालयले उनलाई विदेश जानबाट रोक लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गले लेखेको छ।

उच्चस्तरीय व्यक्तित्वहरूमाथि छानबिन गर्नका लागि बनेको भ्रष्टाचार अनुसन्धान कार्यालयले सोमबार विदेशमा जानबाट रोक लगाउन अनुमति माग गरेको थियो। त्यसपछि कानुन मन्त्रालयले स्वीकृति दिएको हो।

गत मंगलबार राति अचानक सैनिक शासन (मार्सल ल)को घोषणा गरेर विवादमा तानिएका उनलाई विदेशमा जान रोकेको हो। उनले सैनिक शासन घोषणा गरेको ६ घण्टामै संसदबाट उल्‍टिएको थियो।

यो घटनापछि राष्ट्रपतिमाथि कोरियाले विभिन्न निकायहरूले छानबिन अघि बढाएका छन्। अनुसन्धान सुरू भएसँगै पूर्वरक्षा मन्त्री किम योङ-ह्युनलाई पक्राउ गरिसकेको छ।

प्रहरीको राष्ट्रिय अनुसन्धान कार्यालयबाट पनि १५० जनाको टोली बनाएर अनुसन्धान अघि बढाएको उक्त कार्यालय प्रमुख वू जोङ-सोले बताए।

सैनिक शासन लागुगर्ने घोषणा गरेपछि संसदमा उनीविरूद्ध महाअभियोगको प्रस्ताव पनि लगेको थियो। तर उक्त प्रस्ताव पनि अस्वीकृत भएको थियो।

तपाईको प्रतिक्रिया