यू-१९ विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ — नेपाली यू-१९ महिला क्रिकेट टोलीलाई विश्वकपमा भाग लिन मलेसिया प्रस्थान गर्ने तयारीमा बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) द्वारा शुक्रबार आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतका प्रमुख व्यक्तिहरूले टोलीलाई शुभकामना व्यक्त गरे। नेपाली टोली शनिबार दिउँसो मलेसिया प्रस्थान गर्नेछ।

यसअघि क्यानले पूजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो। अन्य सदस्यमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसा कुमारी यादव रहेका छन्।

नेपालले गत महिना भएको यू-१९ एसिया छनोटमा च्याम्पियन बन्दै  विश्वकपमा स्थान सुरक्षित गरेको हो। आगामी माघ ५ देखि २० गतेसम्म मलेसियामा हुने यू-१९ विश्वकपमा १६ टोली प्रतिस्पर्धा गर्ने छन्। नेपाल समूह ‘डी’ मा रहेको छ, जसमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड पनि छन्। नेपालले आफ्नो पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग, दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ।

तपाईको प्रतिक्रिया