यसरी बन्न सफल भयो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण

अन्ततः लामो प्रयत्नपछि विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरण गठन भएको छ । प्राधिकरणको स्थापना नेपालले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा महत्वपूर्ण फड्को हो । प्राधिकरण बनेसँगै विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको काम एकीकृत ढंगले गर्ने बाटो खुलेको छ । तर यहिनेर भुल्न नहुने तथ्य के पनि हो भने विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन ऐन र प्राधिकरण गठनका लागि हामीले एक दशक अघिदेखि निरन्तर बहस र छलफल चलाउँदै आएका थियौ । नेपालको नीजि क्षेत्रको पहिलो राष्ट्रिय टेलिभिजन इमेज च्यानलबाट विगत १० वर्ष देखि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा निरन्तर प्रसारण भैरहेको कार्यक्रम टक अफ द टाउन मार्फत हामीले मिडिया एड्भोकेसी शुरु गर्यौ ।
सरोकारवाला निकाय, सांसद, विभिन्न राजनीतिक दलदेखि स्थानीय समूदायसम्मको छलफलमा हामीले ४० वर्ष अघिको उद्धार तथा राहत केन्द्रीत ऐनले बिपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा भूमिका खेल्ने ठाउँ नरहेको भन्दै समयानुकुल ऐन जारी र प्राधिकरण गठन गर्न भन्दै आएका थियौं । यो प्रक्रियामा हामीले प्राधिकरण गठनको विषय उठाउने काम मात्र मात्र गरेनौ प्राधिकरण गठन अनिवार्य आवश्यक्ता हो भन्नेमा सबैलाई सहमत पनि गरायौ । नेपाल बहुप्रकोप भएको मुलुक हो । यहाँ सधै भूकम्पको जोखिम त छँदैछ । त्यसबाहेक प्रत्येक वर्ष बर्षामा बाढी पहिरोको जोखिम, हिउँदमा शितलहरको जोखिम, गर्मीमा आगलागीको जोखिम त हामीले ब्यहोर्दै आएका छौ । यही तथ्यलाई ध्यानमा राखेर हामीले निरन्तर विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन ऐन जारी हुपर्ने र अधिकार सम्पन्न प्राधिकरण बन्नुपर्नेमा जोड दिइरह्यौं । ऐन बन्नु आफैमा महत्वपूर्ण उपलब्धी थियो, तर ऐनमा गरिएको ब्यवस्थाले प्राधिकरण कमजोर बन्ने स्थिति भएपछि हामीले फेरि सम्वद्ध पक्षहरुको ध्यानाकर्षण गरायौ र ऐन संशोधन गरी प्राधिकरण सिधै प्रधानमन्त्रीको अध्यक्षतामा रहने कार्यकारी समितिप्रति जवाफदेही हुने ब्यवस्था गरियो ।
यसरी अहिले प्राधिकरण विपद् जोखिम न्युनिकरणको काम एकीकृत ढंगले गर्ने शक्तिशाली निकायको रुपमा स्थापित भएको छ भन्न सकिन्छ । तर प्राधिकरण गठनको प्रक्रिया पनि कम्ती जटिल थिएन । एकातिर नियमावलीलाई अन्तिम रुप दिने प्रक्रियामै ढिलाई भएको थियो भने अर्कोतिर प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई कमजोर बनाइने त हैन भन्ने आशंका पनि बाँकी थियो । यस्तो स्थितिमा हामीले प्राधिकरणलाई कमजोर बनाउने प्रयासविरुद्ध खबरदारी गरिरह्यौ र सम्वद्ध पक्षहरुको प्रतिवद्धता खोज्यौ । ऐन बनेको करीब १ वर्ष भैसक्दा पनि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन नियमावली बन्न सकेको थिएन । प्राधिकरण गठनको त सुरसार सम्म थिएन । यसरी, नियमावलीमा संशोधनको प्रक्रिया सकेर सिइओ नियुक्तिका लागि गृह मन्त्रालयका सचिव प्रेम राई संयोजक र पूर्व सहसचिव डा. हरिदत्त पाण्डे र डा. दिपक चम्लागाँई सदस्य रहेको समिति गठन भयो । समितिले दुई पटकसम्म सिइओका लागि निवेदन आह्वान गर्यो । अपेक्षित अनुहारहरुले आवेदन नदिएपछि के गर्ने भन्नेबारे छलफल चलिरहँदा गृहले दोस्रो पटक आवेदन मागेको थियो । प्राप्त आवेदनहरुको बिस्तृत अध्ययनपछि अनिल पोखरेल, डा. प्रेम थापा र विष्णु खरेलकोे नाम नियुक्तिका लागि सिफारिस भयो । सिइओ नियुक्तिको विषय अघि वढेसँगै यसको नेतृत्वलाई लिएर चर्चा तिब्र बन्यो । प्राधिकरणमा कस्तो नेतृत्वको आवश्यक्ता छ ? कस्तो ब्यक्तिले प्राधिकरणको नेतृत्व सम्हाल्लान् ? भन्ने विषयमा सरोकारवालाहरुबीच बहस भयो ।

अनिल पोखरेल बने प्रमुख कार्यकारी अधिकृत

अन्ततः अनिल पोखरेल प्राधिकरणको पहिलो सिइओ बन्नु भएको छ । गत साता बसेको मन्त्री परिषद् बैठकले पोखरेललाई विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।


प्राधिकरणको सिइओ बन्नु ऐतिहासिक अवसरसँगै चुनौतिपूर्ण जिम्मेवारी पनि हो । यही तथ्यलाई ध्यानमा राखेर हामीले नयाँ सिइओको नियुक्ति र उसका प्राथमिकताबारे विपद् ब्यवस्थापमा आ–आफ्नो ठाउँबाट उल्लेख्य भूमिका खेलेका ब्यक्तित्वहरुसँग पनि संवाद गरेका थियौ । त्यसक्रममा सबैले आत्मविश्वासकासाथ उचित कार्ययोजना बनाएर काम गर्न सुझाव दिनु भएको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली विपदको समग्र क्षेत्रलाई बुझेर काम गर्न नवनियुक्त सिइओ पोखरेललाई सुझाव दिनुभयो । यस्तै, राष्ट्रिय पुनर्निमाण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले प्राधिकरणकोन नेतृत्वले जागिरे मानसिकता त्यागेर परिणाममुखी काम गर्न सक्नुपर्ने वताउनुभयो । नवनियुक्त सिइओले आत्मविश्वास र त्यही अनुसारको कार्ययोजना बनाएर काम गर्नुपर्ने उहाँको सुझव छ । विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन ऐन निर्माणमा उल्लेख्य भूमीका खेलेका संसदको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्राधिकरणको सिइओले ब्यवस्थापकीय मात्र नभई नेतृत्व क्षमता देखाउन सक्नुपर्ने वताउनभुयो । यस्तै, सांसद मीन विश्वकर्माले राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर प्राधिकरणको कामलाई प्रभावकारी बनाउन नवनियुक्त सिइओ पोखरेललाई सुझाव दिनुभयो । सिइओले तत्कालको लाभहानी नहेरी विपद्को क्षेत्रमा परिणाममुखी काम गर्न सक्नुपर्ने उहाँको भनाई छ ।
आशा गरौं ब्यवस्थापकीय मात्र नभई प्राधिकरणमा पहिलो सिइओको रुपमा नियुक्ति पाउनु भएका अनिल पोखरेलले तत्कालको लाभहानी नहेरी विपद् जोखिम न्यूनिकरण र ब्यवस्थापनकोे क्षेत्रमा परिणाममुखी काम गर्नुहुनेछ । हाम्रो पनि शुभकामना ।

तपाईको प्रतिक्रिया