कसरी हुन्छ बिजुलीबाट आगलागी वा दुर्घटना, क्षति घटाउने उपाय के हुन्

  • डा. श्रीराम शर्मा र डा. प्रेमराज ढुङ्गेल
  • बीबीसी न्यूज नेपालीका लागि –

अहिले विद्युत्‌ अर्थात् बिजुलीबिना हाम्रो दैनिक जीवन कल्पना पनि गर्न नसकिने भइसकेको छ। तर मानिसका लागि वरदान बनेको विद्युत् सामान्य असावधानीका कारण कहिलेकाहीँ अभिशाप पनि बनिदिन्छ।

काठमाण्डू महानगरपालिकाको वारुण यन्त्रशालाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा काठमाण्डूमा भएका आगलागीका ३०५ घटनामध्ये १७८ वटा विद्युत् शर्ट भएर, २१ वटा ग्यास चुहिएर र बाँकी ११४ वटा अन्य कारणबाट भएका छन् ।

अन्य ठूला सहर र औद्योगिक क्षेत्रमा पनि बिजुलीका कारण आगलागी वा दुर्घटना भएको खबर बेलाबेलामा आइरहन्छ।

बिजुलीका कारण कसरी हुन्छ आगलागी वा दुर्घटना?

सामान्यतया बिजुलीका कारण हुने आगलागीको चर्चा गर्दा ‘शर्ट’ भएको कुरा सुनिन्छ। तर विद्युत् शर्ट भएर आगलागी विरलै हुन्छ।

विद्युत् शर्ट हुनु भनेको विद्युतीय करेन्ट बग्ने दुईवटा तार कुनै अवरोधबिना एक आपसमा जोडिन पुगेमा हुने अत्यधिक करेन्ट प्रवाह हुनु हो। यसले ठूलो मात्रामा ताप उत्पन्न भएर आगलागी हुन्छ। तर दुईवटा तार एकआपसमा जोडिने घटना अपवादमा मात्र हुन्छ।

बिजुलीबत्ती

विद्युतजन्य आगलागीका लागि सामान्यतया दुईवटा कुरा अपरिहार्य छन् – विद्युतीय करेन्ट प्रवाह हुने तार अत्यधिक तात्नु र त्यसको नजिकै प्रज्वलनशील सामग्री हुनु।

कुनै सुचालक अत्यधिक तात्नका लागि कि अत्यधिक करेन्टको प्रवाह हुनुपर्छ या सुचालकको अवरोधात्मक क्षमता बढी हुनुपर्छ ।

अधिक करेन्ट प्रवाहका कारण हुनसक्ने दुर्घटना कम गर्न एमसीबी, एमसीसीबीजस्ता ओसीपीडी (ओभर करेन्ट प्रोटेक्टिभ डिभाइस) जडान गरिन्छ। तर कतिपय अवस्थामा ती उपकरणले पनि काम गर्दैनन् र आगलागी वा अन्य दुर्घटना हुने गर्छन्।

बिजुलीका कारण हुने आगलागी तथा दुर्घटनाका प्रमुख कारणहरू के हुन् त?

  • पुराना तथा लामो समयसम्म प्रयोग नगरी राखिएका उपकरणहरू प्रयोग गर्दा विद्युतीय सम्पर्क बिन्दुहरू खुकुलो भई झिल्का निस्किएर वा तातेर आगलागी हुने गर्छ
  • हीटर लामो समयसम्म बालिराख्दा बाहिरी भागमा भएको कुचालक तातेर वा लापरबाहीका कारण नजिकै कपडा वा अन्य ज्वलनशील सामग्री राख्दा तिनमा आगलागी हुने गर्छ
  • कुनै सुचालक वा उपकरणमा त्यसले प्रवाह गर्ने अधिकतम क्षमताभन्दा बढी विद्युत् प्रवाह भयो भने ताप उत्पन्न भर्इ आगलागी हुन्छ
  • बिजुलीको प्लगमा उपकरण जोड्दा वा अन-अफ गर्दा आगोको झिल्का निस्किन्छ। यदि नजिकै ज्वलनशील पदार्थ छ भने आगलागी भर्इ विष्फोटन पनि हुन सक्छ
  • घर वा कार्यालयमा धेरैवटा विद्युतीय उपकरणलार्इ एउटै ठाउँबाट विद्युतीय एक्स्टेन्शन प्लगको सहायताले जोड्ने गरिन्छ। तर त्यसले धान्न सक्ने अधिकतम क्षमताबारे ध्यान पुर्‍याइएको हुँदैन। परिणामस्वरूप अधिक भारका कारण आगलागी हुने गर्छ
प्लग
  • धेरै पुराना वायरिङमा प्रयोग भएका सुचालक तथा सुरक्षार्थ राखिएका कुचालकहरूको गुणस्तर घट्दै जान्छ र तिनको करेन्ट वहन वा ताप सहन गर्ने क्षमतामा ह्रास भर्इ आगलागी हुने गर्छ
  • कुनै पनि सुचालकको करेन्ट प्रवाह गर्ने क्षमता त्यसको सुचालकता, आकार लगायतका कुरामा निर्भर गर्छ। अन्तर्राष्ट्रिय मापदण्डले करेन्टको मात्राअनुसार विभिन्न सुचालक (तामा वा एल्युमिनीअम) का तारको मोटाइ निर्धारण गरेको छ। कम मोटाइका तार वा मापदण्ड नपुगेका उपकरणको प्रयोग गर्दा आगलागी हुन सक्छ
  • सामान्यतया न्यून भोल्टेज प्रणालीमा अर्थिङको भूमिका अचानक हुने विद्युतीय करेन्ट वा भोल्टेजको वृद्धि तथा विद्युत् चुहावट हुँदा त्यसलार्इ सरल तथा न्यून अवरोधात्मक बाटो प्रदान गरी उपकरणहरूलाई बचाउनु र अन्य दुर्घटनाबाट जोगाउनु हो। अर्थिङ नगर्दा स्वाभाविक रूपमा दुर्घटना हुन सक्छ। तर अर्थिङ गरिएको भए पनि अवैज्ञानिक वा गलत अभ्यासका अर्थिङका कारण वा मापदण्ड नपुगेका सामग्री प्रयोग गर्दा अर्थिङ प्रभावकारी नहुँदा दुर्घटना हुने गर्छन्
  • ‘फल्टलूप अवरोध’ कम चर्चामा आउने विषय हो । तर यसका कारण हुने दुर्घटना वा आगलागी निकै धेरै छन्।

यो विषयमा प्राविधिक जनशक्तिमा समेत न्यून ज्ञान रहेको पाइएको छ भने सर्वसाधारणमा त हुने कुरै भएन। अर्थिङको अवरोध बढी छ भने चुहावट भएको करेन्टले पूरा गर्नुपर्ने विद्युतीय पथलार्इ ‘फल्टलूप’ भनिन्छ।

त्यस्तो मार्गको अवरोध बढी भएका कारणले एमसीबीजस्ता अधिक करेन्ट उपकरणहरूले ‘ट्रिप’ गर्दैनन् र आगलागी हुने गर्छ। विशेषगरी एमआरआई, सीटीस्क्यान लगायतका स्वास्थ्यस्थिति परीक्षण गर्ने संवेदनशील उपकरणमा यसले गडबडी उत्पन्न गर्न सक्छ

टेकुको आगलागी
  • ‘विद्युतीय सर्ज’का बारेमा पनि नेपालमा निकै कम चर्चा भएको पाइन्छ। कतिपय इलेक्ट्रिकल इन्जिनियरहरू समेत यसबारे अनिभज्ञ पाइएका छन्। विद्युतीय सर्ज भनेको अचानक क्षणिक रूपमा बढ्ने विद्युतीय करेन्ट वा भोल्टेज हो।

यसको प्रमुख स्रोत चट्याङ हो। स्विच अन-अफ गर्दा पनि यस्तो सर्ज निस्किने गर्छ। सर्जको सामान्यतया अवधि अत्यन्त छोटो, केही न्यानोसेकन्ड (एक सेकन्डको एक अर्बौँ भाग) देखि केही सय माइक्रोसेकन्ड (एक सेकन्डको दश लाखौँ भाग) सम्मको हुने गर्छ।

प्रतिक्रिया जनाउन बढी समय लिने एमसीबीजस्ता उपकरणले यिनलाई रोक्न सक्दैनन् किनकि सर्जले हाम्रा उपकरणमा क्षति पुर्‍याइसक्दासम्म एमसीबीले थाहै पाउँदैन। सर्जबाट बचाउन सर्ज-प्रतिरक्षात्मक उपकरणको प्रयोग गर्नु पर्छ जसको अभ्यास नेपालमा कमै भएको पाइन्छ।

सुबिसुमा भएको आगलागी
तस्बिरको क्याप्शन,फाइल तस्बिर
  • कुनै सुचालकमा विद्युतीय करेन्ट प्रवाह हुनका लागि त्यसका दुई भागको बीचमा असमान भोल्टेज हुनु पर्छ, समान भोल्टेज छ भने करेन्ट प्रवाह हुँदैन।

सामान्य अवस्थामा विद्युतीय उपकरणहरूले दुई तार (फेज र न्यूट्रल) को सहयोगमा राम्रोसँग काम गर्छन्, तर विद्युतीय गडबडीको अवस्थामा कुनै भाग वा उपकरणको भोल्टेज उच्च हुन जान्छ र अन्य भागको न्यून।

त्यस्तो अवस्थामा एक भाग वा उपकरणबाट करेन्ट अर्कोमा प्रवाह भर्इ दुर्घटना अथवा आगलागी हुने गर्छ। त्यसरी हुने दुर्घटना न्यूनीकरणका लागि समान भोल्टेज ‘बन्धनीकरण’ गर्नुपर्ने हुन्छ। यस्तो बन्धनीकरणको अभ्यास नेपालमा भएको पाइँदैन र विद्युतीय दुर्घटनाहरू निकै बढेको पाइन्छ ।

कसरी हुन नदिने आगलागी र दुर्घटना?

यो सूचीबाट विद्युतीय दुर्घटना बिजुली शर्टका कारणले भन्दा अन्य कारणले नै बढी हुने गर्छन् भन्ने बुझ्न सकिन्छ।

माथि उल्लिखित कारणमध्ये प्रथम सात वटाले हुने दुर्घटना घटाउन सामान्य सावधानी मात्र अपनाउँदा पनि हुन्छ। तर अन्तिम चार कारणहरूले हुने दुर्घटना न्यूनीकरण गर्न विज्ञ प्राविधिकको आवश्यकता पर्छ।

तर धेरैजसो आगलागी वा अन्य विद्युतीय दुर्घटनाका कारक यिनै हुन्। विकसित मुलुकहरूमा पनि आगलागीको प्रमुख कारक तत्त्व यिनै रहेको अनुसन्धानले देखाउँछ।

अमेरिकी विद्युत् मापदण्ड निर्धारण गर्ने संस्था न्याश्नल फायर प्रोटेक्शन एशोसिएशनले हालै गरेको अनुसन्धानका अनुसार अमेरिकाका घरमा हुने आगलागीमध्ये ५०% भन्दा बढी विद्युतीय गडबडीका कारण हुने गर्छन्।

तीमध्ये ६७% आगलागी वायरिङसम्बन्धी कारणले हुने गर्छ।

गमगढी आगलागीः ‘सम्पत्ति जोगाउन सकिनँ, तर नौ वर्षको छोरालाई बाहिर भगाएर बचाएँ’

जनस्वास्थ्यमा खेलवाड र अनपेक्षित क्षति

बिजुलीका कारणले आगलागीबाहेक अन्य अनेकौँ दुर्घटना हुन सक्छ। यद्यपि तिनको लेखाजोखा भएको पाइँदैन।

विद्युतीय गडबडीका कारण विद्युतीय उपकरणहरूमा क्षति हुने, पूर्ण रुपले नष्ट हुने, खराबी आउने र विद्युतीय झट्काका कारणले मानिसहरूको अङ्गभङ्ग तथा मृत्यु पनि हुने गरेका घटना हाम्रा लागि नौलो कुरा होइन।

तर विद्युतीय गडबडीका कारण स्वास्थ्य परीक्षणमा प्रयोग गरिने उपकरणमा हुन सक्ने खराबी तथा ती उपकरणले दिन सक्ने गलत नतिजाका कारण जनस्वास्थ्यमा पर्ने अनपेक्षित दुष्प्रभावबारे प्रायः सर्वसाधारण र सरकारी निकायहरूले चासो राखेको पाइँदैन।

उदाहरणका लागि, विद्युतीय गडबडीका कारण कुनै एमआरआई मशीनले नभएको ट्यूमर देखाएर अनावश्यक शल्यक्रिया गरिएमा बिरामी, चिकित्सक तथा अस्पतालले नै अनपेक्षित क्षति बेहोर्नुपर्ने हुन्छ।

अव्यवस्थित विद्युतीकरणका कारण पनि जोखिम बढेको बताइन्छ
तस्बिरको क्याप्शन,अव्यवस्थित विद्युतीकरणका कारण पनि जोखिम बढेको बताइन्छ

क्षति न्यूनीकरणका उपाय के हुन्

विद्युतीय गडबडीबाट हुने क्षति न्यूनीकरणको प्रमुख उपाय भनेको नै जनमानस तथा सरोकारवालाहरूमा सचेतना फैलार्इ विज्ञ प्राविधिकहरू प्रयोग गरी माथि उल्लिखित कारण पहिल्यार्इ प्राथमिकताका साथ निराकरण गर्ने हो।

यसका लागि दुर्इवटा कुराहरू गर्नुपर्छ।

पहिलो, भवनहरूमा विद्युत् जडान गर्दा अनिवार्य रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्ने। त्यसो नगरिएमा दण्डनीय बनाउने।

दोस्रो, जसरी कुनै मानिसको स्वास्थ्य कस्तो छ भन्ने थाहा पाउन नियमित स्वास्थ्य परीक्षण वा कुनै संस्थाको आर्थिक व्यवस्थापन कस्तो छ भनेर थाहा पाउन आर्थिक लेखा परीक्षण गरिन्छ, त्यसरी नै कुनै पनि भवनमा भएका विद्युतीय जडानहरूको अवस्था कस्तो छ भनेर थाहा पाउन अनिवार्य विद्युतीय अडिटिङ [परीक्षण] गराउने व्यवस्था गर्ने।

त्यो नगर्दा हामीले नजानीकनै हाम्रा निजी वा सार्वजनिक भवन तथा सार्वजनिक स्थानलार्इ विद्युतीय धराप बनाएर राखेका हुन सक्छौँ।

Presentational grey line

डा. शर्मा साउथ एशिया लाइटनिङ नेटवर्कका अध्यक्ष र डा. ढुङ्गेल सोही संस्थाका सदस्य हुन्। यो आलेख लेखकद्वयको अध्ययन र अनुभवमा आधारित छ।

Presentational grey line

तपाईको प्रतिक्रिया