काठमाडौंसहित देशभर फेरि वर्षा, मौसम विभागले जारी गर्यो सतर्कता

काठमाडौं । देशका केही स्थानमा शनिबार (भोलि) राति र आइतबार (पर्सि) वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव शनिबार रातिदेखि बढ्नेछ । त्यसको प्रभाव आइतबार बढी हुने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

“शनिबार राति कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ,” उनले  भने, “हिमपातचाहिँ शनिबार राति कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशसम्म सम्भावना छ ।”

वर्षा र हिमपातको सम्भावना सबै ठाउँमा नरहेको उनले स्पष्ट पारे ।

आइतबार सातै प्रदेशमा बदली (आकाशमा बादल)को सम्भावना छ । आंशिकदेखि साधारणतया बदली हुने उनले बताए । “सातै प्रदेशमा बादल लाग्ने हुन्छ,” उनले भने ।

आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । त्यस दिन सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र कोसी प्रदेशका केही स्थानमा हिमपातको पनि सम्भावना रहेको उनले बताए । “पानी धेरै ठाउँमा पर्ने होइन, केही स्थानमा हल्का वर्षा हुने देखिन्छ,” उनले भने, “मधेस प्रदेशसहित वाग्मतीका तराई र कोसी प्रदेशका तराई भूभागमा वर्षा/हिमपातको सम्भावना खासै छैन ।”

आइतबार काठमाडौंमा पनि वर्षाको सम्भावना छ । यहाँ शनिबार वर्षाको सम्भावना नरहेको उनले स्पष्ट पारे ।

“आइतबार काठमाडौंमा पनि वर्षाको सम्भावना छ । शनिबार खासै प्रभाव छैन,” उनले भने, “काठमाडौं उपत्यकाका एक/दुई स्थानमा आइतबार दिउँसो हल्का वर्षाको सम्भावना छ ।”

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव योपटक पनि पश्चिम नेपालमै बढी देखिने उनले बताए । पश्चिम नेपालबाट आइतबार रातिदेखि त्यसको प्रभाव विस्तारै घट्नेछ । “कोसी प्रदेशमा भने सोमबार बिहान पनि बदलीको सम्भावना देखिन्छ,” उनले भने, “सोमबार दिउँसोदेखि त्यसको प्रभाव रहँदैन ।”

उक्त प्रणालीको प्रभावले चिसो हुने र अधिकतम तापक्रम घट्ने उनले बताए । त्यसले तराई क्षेत्रमा भने एक/दुई दिन हुस्सु/कुहिरो कम हुने उनको भनाइ छ ।

उक्त दिन पानी परे यो वर्षको हिउँदको पाँचौँ वर्षा हुनेछ । गएको मंगलबार काठमाडौं उपत्यकासहित देशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको थियो । केही स्थानमा हिमपात पनि भएको थियो ।

त्यसअघि, यही पुस १२ र १३ गते यो वर्षको हिउँदको तेस्रो वर्षा भएको थियो ।

तपाईको प्रतिक्रिया