भक्तपुरमा बिस्केट जात्राको तयारी तीव्र, रथ निर्माण जारी

काठमाडौं। भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राको तयारी तीव्र भएको छ। जात्राका लागि भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्रांगणमा भैरव र भद्रकालीको रथ निर्माणका कामहरू तीव्र गतिमा अघि बढिरहेका छन्।

प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीहरूले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेदेखि शुरू हुनेछ। नयाँ वर्षको चार दिनअघि भैरवको रथ तानेर जात्रा प्रारम्भ हुन्छ, जुन मुख्यत: चैत मसान्तमा इन्द्रध्वजासहितको लिंगो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिंगो जात्रा मनाएर साँझ लिंगो ढालेर समापन हुन्छ।

जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माणका लागि आवश्यक सबै सामग्री ल्याएर निर्माण कार्य अगाडि बढाइएको जानकारी गुठी संस्थान भक्तपुर शाखा कार्यालयकी प्रमुख खिमा वलीले दिइन्।

चैत २८ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्नदेखि रथ तान्ने परम्परा सुरु हुने छ।

वैशाख ५ गते जात्राको अन्तिम दिन, जात्राको आरम्भको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित टौमढी टोलबाट भैरवको रथ दुई सय फिट लामो चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजाने परम्परा रहेको छ।

तपाईको प्रतिक्रिया