जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

१७ चैत, जनकपुरधाम। धनुषाको जनकपुरमा प्रहरी र स्थानीयबीच झडप भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ विन्धीमा स्थानीय र प्रहरीबीच झडप भएको हो।

छुरा प्रहार गरेर हत्या गरेको घटनामा संलग्न दोषीको पक्राउको माग गर्दै जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि प्रहरीले सडक खोल्ने क्रममा झडप भएको थियो। यस झडपको क्रममा दर्जनौं सेल अश्रुग्यास प्रहार गरिएको छ।

स्थानीयले ढुङ्गामुढा गरेर प्रहरीलाई लखेटेका छन्। झडपमा केही प्रहरी र स्थानीय सामान्य घाइते भएका छन्, तर अहिलेसम्म विस्तृत जानकारी प्राप्त हुन सकेको छैन। धनुषाका प्रहरी उपरीक्षक एसपी भुवनेश्वर तिवारीले भने, “अहिलेसम्म कति सेल अश्रुग्यास प्रहार भएको र कति जना घाइते भएका छन् भन्ने विवरण एकिन भएको छैन।”

गत चैत २ गते होली खेल्ने क्रममा कुर्ता च्यातिएको विवादमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका १५ वर्षीय छोरा आशु माथि छुरा प्रहार गरी हत्या गरेका थिए। यस घटनापछि धर्मेन्द्रलाई पक्राउ गरिएको भएता पनि उनलाई छुरा दिने स्थानीय रामवरण महतोका छोरा राकेश महतो र आशुलाई घरबाट बोलाउन सहयोग गर्ने अन्य व्यक्तिहरू अझै फरार छन्।

घटनाको दुई हप्तासम्म पनि उनीहरूलाई पक्राउ गर्न नसकिएको भन्दै आशुकी आमा अर्चनासहित स्थानीयले आज बिहान ८ बजेदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन्। एसपी तिवारीका अनुसार, “प्रहरीले एकपटक बाटो खोलिसके पनि स्थानीयहरूले पुनः अवरुद्ध गरेका छन्।”

गत चैत १३ गते पनि आशुकी आमा अर्चनासहित स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए। यसअघि प्रहरीले दुई दिनभित्र थप अपराधीहरूलाई पक्राउ गर्ने आश्वासन दिएको थियो, तर एसपी तिवारीका अनुसार त्यस्तो सहमति भएका थिएन।

छुरा प्रहार घटनामा संलग्न केही व्यक्तिहरू फरार भएर भारतमा लुकेका कारण उनीहरूको पक्राउ गर्न कठिनाइ भएको एसपी तिवारीले बताए। उनले भने, “मुख्य दोषी धर्मेन्द्रलाई पक्राउ गरिसकेको छ र अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी छ।”

अर्चनाको श्रीमान् पप्पुको निधन भएको छैट महिना भइसकेको छ। उनका एक्ला छोरा गुमाएपछि अर्चना अहिले सहाराविहीन बनिन्।

तपाईको प्रतिक्रिया