जलवायुप्रतिरोधी आलु उत्पादन गर्दै चीन

काठमाडौं । चीनले जलवायुप्रतिरोधी आलु उत्पादन गर्न सुरु गरेको छ । चिनियाँ वैज्ञानिक जलवायुप्रतिरोधी आलु बनाउने अभ्यासमा सफल भएका हुन् ।

चीनको राजधानी बेइजिङको उत्तरपश्चिमी क्षेत्रस्थित अन्तर्राष्ट्रिय आलु केन्द्रमा चीनले जलवायुप्रतिरोधी आलु उत्पादन गरेको छ । उक्त केन्द्रका वैज्ञानिक ली जिपिङको टोलीले आलु फल्ने सामान्य तापक्रमभन्दा तीन डिग्री सेल्सियस उच्च तापक्रममा बट्टाइँको अन्डाजत्रो आकारका आलु उत्पादन गरेको छ । मात्र १३६ ग्रामका यी आलुको तौल चीनमा पाइने औसत आलुको भन्दा आधा कम हो ।

यो शताब्दीको अन्तसम्म पृथ्वीको तापक्रम बढ्ने अनुमान गरिएको छ । सोही अनुमानानुसार चिनियाँ वैज्ञानिक उच्च तापक्रममा आलु फलाउन सफल भएका छन् । उच्च तापक्रममा फलाइएका यी आलुले जलवायु परिवर्तनका कारण भविष्यमा हुन सक्ने खाद्य असुरक्षाबाट जोगाउने अपेक्षा गरिएको छ ।

चीन विश्वकै सबैभन्दा ठूलो आलु उत्पादक हो । आलु विश्वको खाद्य सुरक्षाका निम्ति सबैभन्दा महत्त्वपूर्ण खाद्यवस्तु मानिन्छ । आलु चिसो स्थानमा फल्ने तरकारी हो । तर, जलवायु परिवर्तनले पृथ्वीको तापक्रम बढ्दै गर्दा आलु उत्पादनमा संकट आएको छ ।

वैज्ञानिक ली र उनको टोली उच्च तापक्रममा आलु फलाउने अभियानमा तीन वर्षदेखि लागेको थियो । टोलीले भित्री मंगोलिया र उत्तरी हेबेई क्षेत्रको औसत तापक्रमभन्दा तीन डिग्री सेल्सियस बढी तापक्रममा आलु फलाए । यी दुई क्षेत्र चीनको आलु फल्ने उच्च भूभाग हुन् ।

adsfg-1732792667.jpg
पृथ्वीको तापक्रम बढ्दै गए किसानले आलु खेती गर्न छाड्छन् कि भनेर चिन्ता गर्छन् वैज्ञानिक ली । उनी भन्छन्, “भविषयमा के हुन्छ भनेर मलाई चिन्ता छ । तापक्रम बढ्दै गएमा किसानले आलुको खेती कम गर्नेछन् र यसले खाद्य असुरक्षा बढाउनेछ ।”

उनीहरूको अनुसन्धानअनुसार, तापक्रम बढ्दा आलुको बिरुवा सामान्य तापक्रमको तुलनामा १० दिन छिटो उम्रिन्छ । उत्पादन भने सामान्यभन्दा आधाले कम हुन्छ ।

यो वर्ष भित्री मंगोलियामा अत्यधिक वर्षाका कारण आलु उत्पादन राम्रो भएन । बर्सेनि फेरिँदो मौसमी चक्रलाई ध्यानमा राखेर चीनका वैज्ञानिक जलवायुप्रतिरोधी आलुको विकासमा लागिरहेका छन् । रोयटर्स बाट ।

तपाईको प्रतिक्रिया