तीन तहका सरकारबीच धेरै समस्या देखिए : मुख्यसचिव अर्याल

काठमाडौं । सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीयता आइसकेपछि सरकारी निकायहरूबीच समन्वयको अभाव देखिएको बताएका छन् । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अर्यालले संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व भने पनि धेरै कुरा अलमलमा रहेको बताए ।

उनले पालिकाहरूले बनाएका कानूनहरूमा पनि विवादित विषय रहेको बताए । संघीयभन्दा विपरीत कानून बनाउन नपाइने भए पनि त्योअनुसारको कानून नबनेको उनको भनाइ छ ।

“पालिकाहरूले कानून त बनाउनुभएको छ, तर तिनै पालिकाहरूको कानूनहरूको बीचमा पनि विवाद छ । संघीय कानूनभन्दा विपरीत कानून बनाउन पाइँदैन भन्ने छ । तर, त्यो खालको अवस्था सिर्जना भएको छैन । त्यसैले उहाँहरूले निर्माण गरेका कानूनहरू कहिले कहीँ नहुने ठाउँमा अलि बढी एक्टिभ भएको देखिन्छ । हामीले एक आपसमा विश्वास नै आर्जन गर्न सकेनौँ,” अर्यालले भने ।

उनले सरकारले युवाहरूलाई सरकारका विभिन्न क्रियाकलापमा समेट्ने भनेर कार्यविधि ल्याइसकेको पनि बताए । उनले आर्थिक सुधारका लागि आयोग नै गठन गरेर अघि बढेको बताए ।

“युवाहरूलाई सरकारका विभिन्न क्रियाकलापमा समेट्ने भनेर कार्यविधि ल्याइसकेका छौँ । आर्थिक सुधारका लागि हामीले आयोग नै गठन गरिसकेका छौँ । केके छन् ल्याकिङहरू ? तीन तहको सरकारबीचको समस्या धेरै आइरहेका छन्,” उनले भने ।

तपाईको प्रतिक्रिया