दक्षिण एसियामा सार्वजनिक शौचालयको अवस्था यस्तो छ…नेपालले के सिक्ने ?



नेपाल, भारत तथा बंगलादेशका सरकार तथा सरोकारवालाहरुले तीनवटै देशमा सार्वजनिक सरसफाइको अवस्था बारे स्थलगत अवलोकन तथा अनुभव साटासाट गरेका छन् । सुरुमा भारतका विभिन्न ठाउँमा निर्माण भएका सार्वजनिक शौचालयको अवलोकन गरेका थिए । त्यसपछि नेपालका रहेका विभिन्न सार्वजनिक शौचालयको अवलोकन र कार्यप्रगतिको समीक्षा गरिएको थियो । त्यसपछि बंगलादेशको राजधानी ढाकामा बनेका सार्वजनिक शौचालयको अवलोकन गरेका थिए । कार्यक्रममा तीनवटै देशका सरकार तथा सरोकारवालाहरुले आ–आफ्नो देशको शौचालयको अवस्थाका बारेमा जानकारी आदान–प्रदान गरेका थिए ।


खानेपानी मन्त्रालयका देवेन्द्र झाले खानेपानी तथा सरसफाइमा निजी क्षेत्रलाई लिएर अगाडि बढ्नु पर्ने बताउनु भयो । उहााले भन्नुभयो, बंगलादेशमा निजी क्षेत्रले काम गरिरहेको छ । हामीले अब निजी क्षेत्रलाई अगाडि बढाउनु अति आवश्यक छ ।

वाटर एड नेपालका गोविन्द श्रेष्ठले नेपालमा सार्वजनिक शौचालयको संरचना छ तर व्यवस्थापन प्रणाली छैन । ढाकामा मार्गनिर्देशन छ, हाम्रोमा त्यो बन्न सकेको छैन । बंगलादेशमा प्रविधिको पनि प्रयोग भएको छ, तर नेपालमा त्यसको प्रयोग हुन सकेको छैन ।

त्यस्तै गोदावारी नगरपालिकामा प्रमुख गजेन्द्र महर्जनले अब गोदावारी नगरपालिकामा स्मार्ट शौचालय बनाउने र त्यसका लागि आवश्यक बजेट पनि विनियोजन गरेको बताउनु भयो ।

त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सार्वजनिक शौचालयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र जनताले सहजै रुपमा सफा र सुविधायुक्त शौचालय प्रयोग गर्न सक्छन् भन्ने सम्बन्धमा काठमाडौं मेयर फोरममा पनि कुरा राख्ने र त्यसलाई कार्यान्वयन गरेर अगाडि बढ्ने बताउनु भयो । त्यस्तै भारतबाट प्रतिनिधित्व गर्नु भएका मेयरहरुले पनि नेपालमा सार्वजनिक शौचालयको अवस्था सन्तोषजनक रहेको र अझ विस्तार गरी अगाडि बढ्नु पर्ने बताउनु भयो । वारिङ्गल म्युनिसिपल कर्पोरेशन तेलंगनाका मेयर गुण्डुसुधा रानीले सार्वजनिक शौचालय र सरसफाइका लागि दक्षिण एसियाका सबै देश एक भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । त्यस्तै ढाका नर्थ सिटी कर्पोरेशनका मेयर अटिक्युल इस्लामले नेपालमा सार्वजनिक शौचालय युरोपको भन्दा विकसित भएको बताउनु भयो । उहाँले भन्नु भयो, युरोपमा शौचालय प्रयोग गरेको पैसा तिर्नुपर्छ तर नेपालमा पैसा तिर्नु पर्दैन । उहाँले भन्नु भयो, हामी सबै मिलेर दीगो विकासको लक्ष्य पूरा गर्ने दिशामा छौं र त्यो पूरा गर्नु पर्छ ।

(नेपाल–भारत–बंगलादेशको सार्वजनिक शौचालयको अवस्था र कार्यप्रगतिमा सम्बन्धमा अवलोकन तथा अनुभव आदान प्रदान गरिएको छ, यसलाई भिडियोमा हेर्न सक्नुहुनेछ)

तपाईको प्रतिक्रिया