नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउनका लागि तयार गरिएको कार्य योजना अनुसार काम गर्नुपर्ने:अर्थमन्त्री पौडेल

काठमाडौं : नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउने तयारी सुरु भएको छ। सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको बैठकमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नका लागि कार्य योजना तयार पारेर कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

जिम्मेवार निकायहरू, कार्यहरू र कार्यहरूको सम्पन्न गर्ने समयसीमा सहित कार्य योजना कार्यान्वयन गरिने जानकारी दिइएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउनका लागि तयार गरिएको कार्य योजना अनुसार काम गर्नुपर्नेमा जोड दिँदै, नेपाल भविष्यमा ग्रे लिस्टमा नपर्ने गरी दीर्घकालीन योजनासँग काम गर्नुपर्ने बताए।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नका लागि कानुनी पक्षमा कुनै समस्या नभएको बताएका छन्। उनले इच्छाशक्ति सहित काम गर्न सक्दा नेपाल ग्रे लिस्टबाट बाहिर निस्किन सक्ने धारणा राखेका छन्।

महान्यायाधिवक्ता रमेश बडालले सबै सरकारी निकायमा संस्थागत सुशासन सुनिश्चित गर्नुपर्ने बताए। मुख्य सचिव एकनारायण अर्यालले सबै निकायहरूको समन्वय गर्दै प्राथमिकताका साथ काम गर्नु पर्ने र प्रविधिको उपयोग गर्दै कार्य योजना अनुसार काम गरेमा नेपाल ग्रे लिस्टबाट बाहिर आउन सक्ने उल्लेख गरे।

नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले कार्य योजना अनुसार सुरुदेखि नै काम गर्न आवश्यक रहेको बताए, नकि अन्तिम समयमा मात्र काम गर्ने भने।

बैठकमा सहभागीहरूले जोखिम मूल्यांकन, अन्तरनिकाय समन्वय, नियमन र सुपरिवेक्षण, अनुसन्धान र अभियोजन, र कसूरजन्य सम्पत्ति लगायतका क्षेत्रमा काम गर्न महत्वपूर्ण रहेको चर्चा गर्दै कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताइएका थिए।

नेपाल गत फागुन ९ मा फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) को ग्रे लिस्टमा परेको थियो।

तपाईको प्रतिक्रिया