पुनर्निर्माणमा ढिलाइ नहुने गृहमन्त्री लेखकको आश्वासन

फाइल

जाजरकोट — गृहमन्त्री रमेश लेखकले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पपछिको पुनर्निर्माण कार्यमा अब ढिलाइ नहुने स्पष्ट पारेका छन्। उनले हालसम्म केही ढिलाइ भए पनि आगामी दिनमा तीव्र गतिमा पुनर्निर्माण अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाइ कार्यालय उद्घाटनका लागि जाजरकोट पुगेका मन्त्री लेखकले सरकारले पुनर्निर्माण कार्यविधि, मापदण्ड र सम्बन्धित कानुनी व्यवस्थाहरूलाई संशोधन गरी विस्तृत क्षति मूल्यांकन (डीडीए) प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।

उनले भने, “नीतिगत र कानुनी अवरोध हटिसकेका छन्, बजेटको व्यवस्थासमेत गरिएको छ। अब कामको गति स्थानीय तहको सक्रियतामा निर्भर हुन्छ। वडाहरूले जतिसक्दो चाँडो डीडीए प्रक्रिया पूरा गरी बजेट माग गरे, त्यति छिटो स्थायी पुनर्निर्माण थालिनेछ।”

मन्त्री लेखकले डीडीए कार्यका लागि आवश्यक प्राविधिक जनशक्तिको अभाव नहुने बताउँदै थप इन्जिनियरहरू खटाइने उल्लेख गरे। साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न नयाँ कार्यालय स्थापना गरिएको जानकारी दिए।

जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाका पुनर्निर्माण कार्यलाई समेट्ने उद्देश्यले उक्त इकाइ स्थापना गरिएको हो। उनले सबै तहका सरकार एकसाथ मिलेर काम गर्नुपर्ने बताए।

उनका अनुसार, जाजरकोटमा ५० जना र रुकुमपश्चिममा ४८ जना प्राविधिक डीडीए कार्यमा खटिएका छन्। आवश्यकताअनुसार थप जनशक्ति खटाइने समेत उनको भनाइ थियो।

डीडीए प्रतिवेदन प्राप्त भएपछि त्यही वडाबाट स्थायी आवास निर्माण सुरु गरिने योजना रहेको बताइएको छ। सरकारको उद्देश्य भनेको प्रभावितहरूलाई यथासिघ्र सुरक्षित आवासमा बसोबास गराउनु हो। मन्त्री लेखकले बलिया संरचना निर्माणमा जोड दिँदै भविष्यको सम्भावित भूकम्पबाट जोगिन सजग रहन आग्रह गरे।

गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। त्यसयता पीडितहरू त्रिपाल र अस्थायी टहरामा बसोबास गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया