बाँकेको राप्ती सोनारी गाउँपालिका : विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा उदाहरणीय अभ्यास

अरुले पनि सिक्ने कि !


बाँकेको राप्ती सोनारी गाउँपालिका विपद् जोखिमको दृष्टीले अति जोखिम स्थल मध्येको एक हो । यो गाउँपालिका विशेष गरी बाढी, डुवान, कटान, शितलहर र आगलागीबाट वर्षेनी प्रभावित हुँदै आएको छ । मोहना नदीको वाढीले प्रत्येक वर्ष जस्तो कटान र डुवानको समस्या ब्यहोर्दै आएका राप्ती सोनारी गाउँपालिकाका बासिन्दा केही वर्षयता विपद्बाट आफु र समूदायलाई बचाउन अभियान सक्रिय छन् । लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि आएपछि विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको अभियानले तिब्रता पाएको छ ।
विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको विषयमा सार्वजनिक बहस चलाउँदै आएको इमेज च्यानलबाट प्रसारण हुने कार्यक्रम टक अफ दि टाउनले डेढ वर्ष अघि राप्ती सोनारी गाउँपालिकाको विपद्को समग्र स्थितिको चित्र प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुसहित स्थानीय जनसमूदायबीच अन्तरक्रिया चलाएको थियो । यस्तै, वाढी र डुवानबाट सबैभन्दा वढी प्रभावित हुने वडा नम्बर ६ र ७ मा पुगेर वडाअध्यक्ष र स्थानीय समूदायबीच अन्तरक्रिया गरिएको थियो । त्यसक्रममा अध्यक्ष थारुले एक साताभित्र विपद् ब्यवस्थापन शाखा संचालनमा ल्याउने प्रतिवद्धता जनाउनु भएको थियो । यस्तै वडा नम्बर ६ का अध्यक्ष जनक थारुले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा कनै कसर बाँकी नराखेर काम गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
विगतमा कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँग गरेका प्रतिवद्धता कति पुरा भए हामीले यसै साता त्यसको फलो अप गरेका छौ । स्थलगत अध्ययन, रिपोर्टिङकासाथै गाउँपालिकाको नेतृत्व र स्थानीय समूदायबीच अन्तरक्रिया गरेका छौ । यो क्रममा बाँकेको राप्ती सोनारी गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा उल्लेख्य कामहरु गरेको पाइएको छ ।
अहिले गाउँपालिका कार्यालयमा विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन शाखा संचालनमा छ । यो शाखामा विपद् आइहालेको स्थितिमा तत्काल उद्दार र राहतका लागि आवश्यक सामाग्रीहरु राखिएको छ ।
अर्कोतिर वडा नम्र ३ मा पाँचसय मानिस अट्ने क्षमताको सामूहिक भवन निर्माण गरिएको छ । जहाँ अन्य अवस्थामा समूदायबीच बैठक र छलफल हुने भएपनि विपद्को स्थितिमा आश्रय केन्द्रको रुपमा यो रहेको छ । भान्छादेखि शौचालयसम्म ब्यवस्थिति तरिकाले निर्माण गरिएको यो आश्रय केन्द्र त्यसक्षेत्रका बासिन्दाका लागि भरोसायोग्य थलो बनेको छ ।
यति मात्रै होइन उद्दार र राहत सामाग्रीको पर्याप्त प्रबन्ध गरी चार वटा भण्डार कक्ष संचालनमा ल्याइएको छ । वडा नम्बर ४ को भण्डार कक्षको निरिक्षणकोक्रममा हामीले त्यहाँ भाडाकुँडा लत्ता कपडासम्मका सामाग्रीहरु रहेको पायौ । नदी कटान रोक्न जैविक तटबन्धलाई तिव्रता दिइएको छ ।
हामीले वडा नम्बर ६ का अध्यक्षसहित स्थानीय सरोकारवाला र समूदायबीच चलाएको अन्तरक्रियाको क्रममा समूदाय विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनमा निकै सचेत भएको पायौं । गृहणीदेखि लिएर स्कूले बालवालिकासम्म विपद् जोखिमको स्थितिप्रति सचेत छन् । यति मात्रै होइन विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनका लागि सामूहिक प्रयास गरिरहेका छन् । वडा नम्बर ६ का अध्यक्ष जनक चौधरीका अनुसार अहिले प्रत्येक वडामा ६ देखि १२ जनासम्म तालिम प्राप्त जनशक्ति तयार गरिएको छ । जसले विपद् जोखिम न्यूनीकरणका लागि सचेतनामूलक अभियान चलाउने मात्र होइन विपद्को स्थितिमा तत्काल पीडितलाई उद्दार गर्ने, प्राथमिक उपचार गर्नेसम्मका कामहरु गर्दै आएको छ । दक्ष जनशक्तिको संख्या अझै वढाउँदै लैजाने गाउँपालिकाको लक्ष्य छ ।
विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनको सन्दर्भमा स्थानीय तह, प्रहरी लगायतका निकाय, सरोकारवाला र स्थानीय समूदायबीच निकै राम्रो सहकार्यको उदाहरण प्रस्तुत गर्न सफल छ राप्ती सोनारी गाउँपालिका । विपद् जोखिम न्यूनीकरणका लागि दुई करोड रुपैया बजेट विनियोजन गरिएको छ । वडा र गाउँ तहसम्म स्थानीय विपद् ब्यवस्थापन समितिहरु सक्रिय छन्, पूर्व सूचना प्रणालीलाई थप ब्यवस्थिति र प्रभावकारी तुल्याइएको छ । अहिले राप्ती सोनारी गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिइरहेको छ । जोखिम न्यूनीकरण र ब्यवस्थापनमा राप्ती सोनारी गाउँपालिकाका प्रयासहरु साच्चिकै उदाहरणीय छन् । अरुले पनि राप्ती सोनारीबाट सिक्ने कि !

तपाईको प्रतिक्रिया