भुटानसँग नेपाल फेरि निराश, बराबरीमा टुंगियो खेल

काठमाडौँ — के भुटानी महिला फुटबल झन्–झन् ठूलो हुँदै छ ? हो । के अबको केही वर्षमा भुटानले वुमेन्स साफ च्याम्पियनसिप जित्न सक्नेछ ? सक्नेछ । यी दुई प्रश्नमा छोटो जवाफ हो, भुटानी वुमेन्स यू–१९ टिमका प्रशिक्षक टंकमाया घलेको  

यति भन्दै गर्दा उनको आत्मविश्वास पनि छल्किरहेको थियो । नहोस् पनि किन र ? अचेल भुटानी महिला फुटबलले प्रगति गरेको छ । पछिल्लोपल्ट महिला उमेर समूहमा भुटानले लगातार काम गरिरहेको छ । नेपाली फुटबललाई भने त्यसलाई हेर्दा डाहा हुन्छ । भुटानको दुई टिमले भर्खरै मैत्रीपूर्ण फुटबल खेलेको छ, नेपालविरुद्ध ।

पहिलो थियो, यू–१६ स्तरमा । त्यसमा नेपाल ५–१ ले पराजित रह्यो । दोस्रो यू–१९ स्तरमा थियो । त्यो भने दशरथ रंगशालामा आइतबार भएको थियो । त्यसको भने स्पष्ट हार–जितको नतिजा आएन, १–१ को बराबरीमा टुंगियो । अब यसलाई दुई खेलको सिरिज मान्ने हो भने भुटान नै अगाडि रह्यो, यी खेलमा भुटान नेपाली भूमिमा अपराजित रह्यो ।

मिडियासँगको कुराकानीमा प्रशिक्षक घले उत्तिकै खुसी पनि देखिन् । उनको भनाइ थियो, ‘नेपालमा आएर फुटबल खेल्नु हाम्रो महिला भुटानी फुटबलका लागि ठूलो अवसर हो । भुटानमा महिला फुटबलकै लागि भनेर एकेडेमी छ, सबै उमेर समूहका लागि । त्यसैले हाम्रो फुटबलमा प्रगति भएको जस्तो लाग्छ । हामी सबैले कडा मिहिनेत गरिरहेका छौं र त्यसकै प्रतिफल पाइरहेका छौं ।’ अझ उनको दाबी थियो, नेपालविरुद्ध यो यू–१९ टिम अझ राम्रो खेल्न सक्षम थियो ।

अपेक्षाअनुसार खेल्न भने सकेन । उनले थपिन्, ‘यो टिमलाई अझ धेरै अनुभवको आवश्यकता छ । मलाई विश्वास छ, यी खेलाडीले भविष्यमा अझ राम्रो गर्नेछ । अबको दिनमा भुटान वुमेन्स साफ च्याम्पियनसिप जित्न सक्षम हुनेछ र यसमा मलाई आत्मविश्वास पनि छ ।’ भुटानको यू–१९ टिमले यही एक खेलका लागि भनेर दुई महिना नियमित अभ्यास गरेको थियो । यसको ठीक विपरीत नेपालको तयारी गाह्रोमा १० दिनको हाराहारीमै मात्र थियो ।

यू–१६ मा बेहोरेको हारका कारण यू–१९ को खेल हुँदा नेपाली टिमका प्रशिक्षक यामप्रसाद गुरुङ आफैं दबाबमा थिए र उनले यसलाई स्विकारे पनि । उनको भनाइ थियो, यस्तो तयारीले नेपाली महिला फुटबलमा नतिजा आउने छैन । उनले भने, ‘हाम्रा खेलाडीमा फिटनेसको समस्या देखियो । हाम्रा खेलाडीले खेल नहुँदा अभ्यास नै नगर्ने रहेछन् । त्यसैले हामीले खेलाडीको फिटनेसमै बढी ध्यान दिनुपर्‍यो । फिट खेलाडी भएको भए तयारी अर्कै हुने थियो ।’

उनले थपे, ‘कोही पनि खेलाडीले व्यावसायिक भएपछि खेल नहुँदा पनि नियमित अभ्यास र प्रशिक्षण गर्नुपर्ने हुन्छ । तर नेपालमा यस्तो हुन्न ।’ यस्तोमा प्रश्न हुन्छ, दोष कसको त ? खेलाडीको कि खेल नगर्ने फुटबल संघको । प्रशिक्षक गुरुङ मान्छन्, दुवैको । उनी कतिसम्म मान्छन् भने यस्तै तयारी गरेर खेल्ने हो भने नेपाली महिलाले ठूल्ठूला फुटबल खेल्ने सपना खालि सपना मात्रै हुनेछ, त्योभन्दा बढी केही हुने छैन, असम्भवजस्तै हुन्छ, यी सपनाहरू ।

मैदानमा फर्कने हो भने नेपालले सुशीला केसीको गोलले अग्रता लिएको थियो । उनले पेनाल्टी एरियाको ठीक बाहिरबाट ४७ औं मिनेटमा गरेको प्रहार गोलमा परिणत भएको थियो । तर यो निर्णायक हुन सकेन र भुटानले ८० औं मिनेटमा बराबरी गोल फर्कायो । उसका लागि फुन्ट्सो छोदेनले गोल गरिन् । नेपाली डिफेन्सले आफ्नो भूमिका बिर्सना छोदेनले सजिलै गोल गरेकी थिइन् । त्यस अगाडि २० औं मिनेटमा चोकी ओमको प्रहारमा नेपालकी सिमरन राईले हेडबाट गोललाइन क्लियरेन्स गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया