भोजपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, प्रहरी जवान सन्जीव राई र विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु

काठमाडौं- भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भएको भिडन्तमा दुई जनाको ज्यान गएको छ।

भोजपुर नगरपालिका- ७ हटिया लाइनमा भएको भिडन्तमा एक प्रहरी र एक विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको हो।

सादा पोसाकमा गस्तीमा खटिएको प्रहरीमाथि विप्लव समूहले सुरुमा फायरिङ गरेको थियो। प्रहरी जवान सञ्जीव राईको छातीमा गोली लाग्यो। सो क्रममा जवाफी कारबाही गर्दा विप्लव समूहका ओखलढुंगा इन्चार्ज निरकुमार राई घाइते भए। दुवैलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचार क्रममा दुई जनाकै मृत्यु भएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए।

घटनामा प्रहरी जवान सोमनाथ भट्टराई घाइते भएका छन्। कुमको हड्डी भाँचिएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार विप्लव कार्यकर्ताको गतिविधि बढेको जानकारी आएपछि ५ जना सादा पोसाकका प्रहरी निगरानीमा थिए। विप्लव इन्चार्जलाई चिनेर पक्राउ गर्ने क्रममा उनले फायर खोलेका थिए। त्यसपछि उक्त घटना भएको हो।

निरकुमारको साथबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको छ। बिहान ८:४५ तिर उक्त घटना भएको हो।

अहिले उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

Nepalliveबाट साभार

तपाईको प्रतिक्रिया