रास्वपाको उम्मेदवार अपहरणमा: प्रमुख निर्वाचन आयुक्त भन्छन् “गृह मन्त्रालयले हेर्नु पर्ने हो”

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूले तय गरेको उम्मेदवारलाई ‘अपहरण’ गरेको भन्दै विज्ञप्ति जारी गरेको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्वाचन आयोगमा हुम्ला सर्केगाड गाउँपालिकामा रास्वपाको तर्फबाट उपाध्यक्ष पदमा सुजाता थापा र उनका श्रीमान बल थापालाई अज्ञात समूहले अपहरण गरेको भन्दै निवेदन दिएका हुन्।

शनिबार दिउँसो १ बजेतिर करिब ४० देखि ४५ जनाको युवाहरूले लछारपछार गर्दै अज्ञात स्थलमा लगेको निवेदनमा उल्लेख रहेको छ।

‘रास्वपाका उम्मेदवार र उहाँको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुनसक्ने सम्मको यातना दिइएको पाइएको र त्यसपछि सुजाता र उहाँको परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुग्नुभएको पाइएको छ,’ निवेदनमा उल्लेख छ।

आयोगमा आइतबार सुरक्षाको बैठक बसेको थियो। उक्त बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी सहभागी भएका थिए।

सचिव दुवाडीले यस विषय पनि उक्त बैठकमा उल्लेख गरेका थिए।

रास्वपाको उम्मेदवार अपहरणमा परेको भन्ने विषयबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग सोध्दा आफ्नो क्षेत्राधिकारसँग सम्बन्धित नभएको बताए।

‘यो विषय हामीले हेर्ने होइन। गृह मन्त्रालयले हेर्नुपर्ने हो। आज सुरक्षाको बैठकमा सचिवज्यूले यस्तो भएको कुरा आएको भनेर सुनाउनुभएको थियो,’ उनले भने, ‘बैठकमा पनि मैले तपाईंहरूले हेर्ने हो, हामीसँग सम्बन्धित विषय होइन। निर्वाध रूपमा स्वेच्छाले उम्मेदवार हुन पाउँछ, कसैले रोक्दैन।’

उनले उम्मेदवारी दर्ता नहुँदासम्म कसैलाई पनि निर्वाचन आयोगले उम्मेदवार भनेर नचिन्ने बताए।

शनिबार साँझपख पार्टी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पनि त्यही जानकारी गराएको प्रजिअ पाण्डेयको भनाइ छ।

आइतबार बिहान १० बजेदेखि ५ बजेसम्मका लागि निर्वाचन आयोगमा मनोनयन दर्ता गर्ने समय तोकिएको छ। मंसिर १६ गते ४४ स्थानमा उपनिर्वाचन हुँदैछ।

तपाईको प्रतिक्रिया