रियाल मड्रिडको संघर्ष, घरेलु समर्थकहरूको असन्तोष बीच आर्सनलसँग भिड्ने तयारी

काठमाडौं । पछिल्लो एक दशकमा ६ पटक च्याम्पियन्स लिगसहित स्पेनिस र युरोपियन च्याम्पियनको उपाधि जितेर रियाल मड्रिडले आफ्नो उत्कृष्ट स्तर कायम राखेको छ, तर यस सिजनमा यो टोली संघर्षरत देखिनु परेको छ। यसकारण, घरेलु समर्थकहरूबाट असन्तोष व्यक्त भइरहेको छ।

तर, रियाल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टी आलोचनाप्रति बेखबर छन्। उनका अनुसार, मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलका पहिलो लेगको तयारीमा व्यस्त छ र मंगलबार आर्सनलसँग खेल्न तयार हुँदैछ।

एन्सेलोट्टीले च्याम्पियन्स लिगको पत्रकार सम्मेलनमा भने, “हामी प्रत्येक तीन दिनमा खेल खेलिरहेका छौँ, त्यसैले आलोचनाबारे सोच्ने समय छैन। हामी हरेक खेललाई मूल्याङ्कन गरेर अर्को खेलको तयारी गर्छाैँ। भोलिको खेल महत्त्वपूर्ण छ, तर यो नै निर्णायक भने होइन।”

गत सिजन रियालले दुई खेल मात्र गुमाएर च्याम्पियन्स लिग र ला लिगा जितेको थियो, तर यो सिजनमा फ्रान्सका कप्तान केलियन एमबाप्पेको आगमनपछि समर्थकहरूको अपेक्षाहरू बढेको थियो। तर, एमबाप्पे आएपछि पनि रियाललाई बलियो देख्न सकिएको छैन, र यो सिजनमा टोली लय कायम गर्न संघर्षरत छ। रियालले यस सिजन स्पेनिस ला लिगामा पाँच खेलमा हार बेहोरिरहेको छ, जसमा चिर–प्रतिद्वन्द्वी बार्सिलोनासँगको लज्जास्पद हार पनि समावेश छ।

शनिबारको घरेलु मैदान सान्टियागो बर्नबेउमा भ्यालेन्सियासँग २–१ को हारपछि रियाल ६३ अंकसहित ला लिगा तालिकाको दोस्रो स्थानमा रहेको छ।

च्याम्पियन्स लिगको प्लेअफमा म्यानचेस्टर सिटी र एट्लेटिको मड्रिड विरुद्धको जितले एन्सेलोट्टीलाई आत्मविश्वास दिएको छ। उनले भने, “यदि मलाई विश्वास हुँदैनथ्यो कि हामी सिजन उपाधि जित्नेछौँ भने, मैले पहिले नै यो काम छोडिसकेको हुन्थेँ। म छुट्टिमा बस्थेँ होला।”

यी दुई टिमबीचको पहिलो लेग आज राति आर्सनलको इमिरेट्स रंगशालामा नेपाली समयअनुसार १२ः४५ बजेदेखि हुनेछ। क्वार्टरफाइनलको दोस्रो लेग भने अप्रिल १७ मा रियालको मैदानमा हुनेछ।

तपाईको प्रतिक्रिया